Friday, May 20, 2016

संस्कृत शिक्षा र पहलकदमी

- बालकाचार्य 

कुनै समय थियो जतिखेर गुरुकुलमा वटुकहरु बस्ने गर्थे  र उनिहरु संस्कृत विषयमा सैद्धान्तिक र व्यवहारिक दुबै स्तरबाट उन्नत हुन्थे | समय बद्लिदै गयो गुरुकुल हटेर संस्कृत विद्यालय बने त्यसपछि मात्र विद्यालय रहे | विद्यालयको शिक्षा आफ्नै तरिकाले अघि बढ्दै गर्दा अंग्रेजीलाई प्राथमिकता दिदै निजी विद्यालय खुले जहाँ अंग्रेजी मुख्य विषय हुन थाल्यो र बलाकहरूलाई विषय रटाउन थालियो र रटंते प्रणालीको विकास गरियो |
विकासको कालखण्ड बित्दै गर्दा त्यो परिपाटी पनि हल्का र वैज्ञानिक नभएको पुष्टि हुदैछ | नेपालका निजी विद्यालयहरुले आफुले चलाई राखेको पाठ्यक्रममा शिक्षा मात्र भएको र त्यसमा विद्या को पनि खांचो देखेर अब भित्रिने रहस्यलाई बुझी र आफ्नो पाठ्यक्रममा संस्कृत विषयलाई समावेस गर्न थालिसके  | शिक्षा र विद्याको स्तर विकास मा संस्कृत को महत्वलाई बुझ्दै निजी विद्यालयले गरेको यो कदम समय सापेक्ष र युगानुकुल रहेको छ |

संस्कृत शिक्षा र शिक्षण प्रणालिको कुरा चल्दा अनौठो तरंग जागेर आउँछ मेरो मानस्पटलमा | आजभोली संस्कृत को गुणगान संगै चर्चा परिचर्चा र अध्ययन अनुसन्धान गर्नेहरु पनि बढ़ीरहेका छन | सनातन वैदिक परम्परमा संस्कृत भाषालाइ देववाणी अर्थात देवताहरूले बोल्ने भाषा भनेर चिनिन्न्छ | कुरा संस्कृत विषयकै हो | म आफै पनि संस्कृत को विद्यार्थी हूँ | तर जीवनका भावना र संवेदनाहरुलाई ऋचा,मंत्र ,श्वलोक र सूत्रहरुलाई घोकंते तरिकाले अनुभव गर्न खोज्दा वास्तविक ज्ञान को एक चौथाई पनि मुस्किलले मिलेको छ | तर यसैमा पनि म गर्व गरिरहेछु की म संस्कृत को विद्यार्थी हूँ भनेर |
            सम्पूर्णानंद विश्वविद्यालय वाराणसीबाट आचार्य परीक्षा दिने वित्तिकै मैले संस्कृत नै पढाउने अवसर पांए र मात्र अनुभव गरें वैज्ञानिक र युगानुकूल पाठ्यक्रमको विकास गर्नु पर्ने आवश्यकता बारे | मात्र शास्त्रादी ज्ञानलाइ पूजा गरेर संस्कृति को संरक्षण हुदैन संस्कृतिलाई बचाई राख्न जीवन्त त्यसमाथि सरल अभ्यास चलिरहनु पर्दछ | वर्तमान समयमा भारतको सम्पूर्णानंद विश्वविद्यालय , नेपालको ने.वि.सं वि.वि. र अन्य विश्वविद्यालयहरुले ४० वर्ष पुरानो पाठ्यक्रमलाइ आजसम्म चलाई राखेका छन | चाहे त्यो ब्याकरण,साहित्य,एवं अन्य आदि विषयनै किन नहोस कालिदास,वाग्भट्ट ,कविराज आदिका प्राचीन ग्रंथहरू अझै पनि पाठ्यक्रम मा सम्मिलित छन जून रसात्मक र उत्कृष्ट हुदा हुदै पनि शैली परिमार्जन र युग सापेक्ष व्याख्या नहुनाले नीरस र खोक्रा प्रतीत हुदै छन | विश्वविद्यालय मा प्राध्यापक, शिक्षक नियुक्ति देखि लिएर कर्मचारी सम्ममा लामो रकम को चलखेल गरिनुले संस्कृत शिक्षा झन धरासायी बनिरहेको छ | अधिकांस विद्यालयमा रजिस्टरमा मात्र  सिमित विद्यार्थी छन ,भएका केही विद्यार्थी पनि पाठ्यक्रम अध्ययन भन्दा बढ़ी कर्मकाण्ड आदिमा ब्यस्त हुनु झन पीड़ादायी आवस्था हो |
            संस्कृत भाषाको गुणगान गाएर दया देखाए जस्तो गारी संस्कृत विद्यालय र विश्वविद्यालयलाइ बचाउने र फर्जी विद्यार्थी राख्ने परिपाटी बंद गरी सरल सुलभ र यथार्थ परीक्षा प्रणाली,वास्तविक शिक्षक,विद्यार्थी राखी अध्ययन-अध्यापनको  परिपाटीलाई सुधार्नु अति अवश्यक छ | संस्कृत शिक्षा आर्जन गरिरहेका वर्तमानका  १०० % विद्यार्थी मध्य वास्तविक संस्कृत शिक्षालाई व्याकरण सम्मत ढंगले अध्ययन गर्ने न्यूनतम ५% प्रतिशत पनि भेट्टाउन गारो छ | संस्कृत गुरुकुल अथवा संस्कृत विद्यालय, पाठशालाका आवासमा बस्ने  गुरुले सिकाएको कर्मकाण्ड विधिले समाजमा कर्मकाण्ड गरेर पैसा कमाउने अथवा अली अली बोल्न जान्नेहरु भागवत आदि पढेर प्रवचन गर्नेहरु हुन्छन | र बांकी रहेका ९०% प्रतिशत विद्यार्थीहरु परीक्ष|को समयमा गाइड हेरेर उत्तीर्ण गर्ने खालका हुन्छन |
            संख्याको दृष्टिले हेर्दा संस्कृत पढने विद्यार्थी कम भएका छैनन | कम भएको छ त संस्कृतलाई बुझ्ने वास्तविक विद्यार्थी र शिक्षकहरूको | शिक्षक हरुनै  कर्मकाण्ड मा सिमित भएको अवस्थामा विद्यार्थीले त्यसभन्दा माथी पढ्न पाउनु असंभव छ | यो भन्नु को मतलव यो होइन कि शिक्षक नजान्ने छन तर अधिकांश शिक्षक नै त्यस्ता छन जो राजनितिक भागबंडा र घुस ले नोकरीको कुर्चीमा बसेका छन | त्यसरी आएको कर्मचारीले लंगड़ो बनिरहेको शैक्षिक प्रणालीलाई के योगदान दिन सक्छ |
संस्कृत भाषा जीवन्त भाषा हो यसमा कुनै संका छैन , यसको संरक्षण संबर्धनमा सबैको ध्यान जानू राम्रो कुरा हो तर युगानुकूल विधि र प्रकृया अनुरूप परिमार्जित संसोधित गरिनु आजको आवस्यकता हो | युग अनुसार नयाँ खोज,नयाँ शब्द उत्पत्ति भैरहेको अवस्थामा संस्कृतमा पनि त्यस्ता शब्द तथा व्यबहारलाइ उतारने र कार्यान्वयन गर्नु पर्ने जिम्मा संस्कृत शिक्षाविदकै हो | यो यिनिहरुकै वसको कुरा हो अरुबाट संभव पनि छैन |
            विदेशीहरूले संस्कृत शिक्षलाई अपनाई रहदा हामी हाम्रै बारीमा फलेको वृक्षलाई उपेक्षा गरेर नाम मात्र का लागी संस्कृतलाई पूजा गरिरहेछौं अन्धो बनेर | वास्तविक रुपमा आजको आवश्यकतालाई नियाल्ने हो भने संस्कृत भाषाका लागी नयाँ सोंच र प्रक्रिया सहित अघि सर्नु अपरिहार्य छ |
            २०७२ साउन महिनाको कुरा हो दोलाखामा जन्मे हुर्केका जनार्दन घिमिरेको अन्तरवार्ता संस्कृत शिक्षा प्रणाली र संस्कृत ग्रामको बारेमा रेडियोमा लिने अवसर मिलाएको थिए | नेपालको वर्तमान परिवेशलाई नियाल्दा संस्कृत पढेर संस्कृत भाषाको मर्मलाई उजागर गर्न प्रतिबद्ध भएका व्यक्ति उहाँ हुनुहुन्छ | आफ्नै जन्मस्थलमै भएपनि संस्कृत ग्राम खोल्ने जमर्को (अभियान ) थाल्नुभएको छ | नेपालको संस्कृत विश्वविद्यालय पनि भारतको विश्वविद्यालयको कपि पेस्ट भएको अवस्था बाताउदै उहाँ शिव पार्वती गौरी शंकरको देशलाई झझल्को दिने खालको आफ्नै मौलिकतालाई दर्शाउने शिक्षण संस्थानको परिकल्पना आफुले गरेको बताउनु हुन्छ | ४५ मिनेटको कुराकानिमा,संस्कृतको महत्व , नेपालबाट विकशित भएका शिक्षा , विद्याहरुको चर्चा आदिका बारेमा कुराकानी प्रश्नोत्तर  भएको थियो | उहाँको भनाइले के स्पष्ट पारिरहेको थियो भने | उतिबेला द्वंद्वकालमा हटाइएको संस्कृत विषयलाई  अहिले आवश्यक महसूस गरिरहेछ्न सरोकारवालाले तर त्यसलाई पुनः पाठ्यक्रममा समायोजन गर्दा आधुनिक र युगानुकूल पाठ्यक्रम निर्माण गरिनुपर्ने र १० कक्षा सम्म संस्कृत ,नेपाली ,गणित ,अंग्रेजी र विज्ञान विषयलाई अध्ययन गराउने र तत्पश्चात विद्यार्थीको रूचि अनुसार विषय रोज्न सक्ने भन्ने थियो | 
            म आफैले पनि लाघुसिद्धान्त पढने अवसर पाइन संस्कृत साहित्य विषय भएका कारण मध्यसिद्धान्तकौमुदी पढ़ें | संस्कृत व्याकरणको वैज्ञानिक र सटीक पुस्तक हुंदा हुँदै पनि पाठन शैली उही पुरानो भएको कारण विद्यार्थीहरुमा रटने बानीको विकास हुन्छ त्यसकारण पनि वृहद् ज्ञानमा बाधा जस्तो देखिन्छ | तथापि रटने प्रकृयाबाट पनि तीक्ष्ण स्वभावको विद्यार्थीले सजिलै विषयवस्तुलाई बुझ्न सक्छ तर नसक्नेका लागी घोक्ने मात्र काम हुन्छ त्यसको अर्थ र मर्म संग कुनै भावना जोडीन सक्दैन | पूर्व मध्यमा देखि उत्तर मध्यमा सम्म सूत्र रटेर पढेको आधारमा भएपनि मलाई  नेपाल वेद विद्याश्रम वनकालीको पाठ्यक्रम पढाउने अवसर मिल्यो | नेपालका गुरुकुलहरुमा वर्तमान समयमा दुई तीन तरिकाका पाठ्यक्रम संचालित छन | नेपाल वेद विद्याश्रम वनकालीको आफ्नै पाठ्यक्रम छ जबकि त्यो सरकारी मान्यता प्राप्त संस्थान हो | उनिहरु कक्षा ४ देखि संस्कृत व्याकरण, साहित्य, कर्मकाण्ड , आदि अध्यापन गराउछन र लगभग एवं विषय  रहेको अर्को पाठ्यक्रममा कक्षा ६ देखि संस्कृत अध्यापन भैरहेको देखिन्छ | जस्तै कक्षा ४ मा अध्ययन गराइने व्याकरण को संज्ञा प्रकरण ६ बाट सुरु हुने पाठ्यक्रम मा पनि अध्यापन गराई राखेको पाइन्छ | यसरी एक खालको पाठ्यक्रम आ-आफ्नै तरिकाले सञ्चालन गर्ने गर्नाले गुरुकुल एवं संस्कृत शिक्षाको विषमतालाई स्पष्ट देखाएको छ |
           

केही दिन पहिले पोखराका साथी दयानिधि गौतमले आफ्नो फेसबुक वालमा संस्कृत शिक्षा तथा भाषाको विकासका लागी केही सुझाब सहित बूंदाहरु शेयर गरेका थिए निकै सान्दर्भिक र सही लाग्यो सहमत जनाउदै कमेन्ट पनि गरें | त्यो भन्दा पहिले अभी सुवेदिको संस्कृत विषयक लेख कान्तिपुरको आनलाइन पेपरमा पढेको थिएं | दयानिधिले बूंदा शेयर गर्दाको अगिल्लो दिन प्राध्यापक जनार्दन घिमिरेले काष्टमंडपका केही निजी विद्यालाय्ले संस्कृत विषयलाई अध्ययन गराउने भन्ने विषयमा अंतर्क्रिया राखेको कुरा अवगत भएको थियो | आज यो लेख लेख्दै गर्दा सम्म कही निजी विद्यालय ले नया शैक्षिक सत्र देखि संस्कृत सुरु गर्ने भएको जानकारी समाचारहरुबाट पांए | गौरी पत्रिका का अर्जुन लामिछाने र जनार्दन घिमिरे का वालमा सकारात्मक विचार सहित समाचार पोस्ट भएका थिए | जून क्रियाकलापले संस्कृत वांगमयलाई उर्वर वनाउन मद्दत गर्ने संकेत देखिन्छ |
            जनार्दन घिमिरे दिलोज्यानले संस्कृत ग्रामका लागी लागी परिरहेका छन जहाँ जान्छ्न त्यहीं कार्यक्रम का बिच संस्कृत को ब्याख्या  महिमा आफ्ना भावावेग र आफुले गरेका कामको बारेमा अवगत गराउछन | सारगर्वित प्रवचन, अनुसंधात्मक वार्तालाप र गहन विषयवस्तुको ज्ञानले ऊनि दरिला छन | ऊनि बोल्दै गर्दा सायदै व्यक्ति हुन्छन होला जो रोमांचित हुन सक्दैनन | यो सम्पूर्ण लेख पढ्दै गर्दा यो अर्थ न निस्कोस की संस्कृत मा काम गर्ने जनार्दन मात्र हुन भनेर नेपालमा संस्कृत विश्वविद्यालय छ , विद्वान छन , ती सबै संस्कृत विद्वान र शोधार्थी एक भएर संस्कृत को जगेर्ना र पहलकदमी चाल्न नयाँ जोश र शैली को विकास गर्न तर्फ एक जुट भएर लागे नेपालबाट नै संस्कृत को विकास र सुरुवात भएको कुरा कालान्तरमा गएर पुष्टि हुने छ |
गुरुकुल विद्यापीठ र साधारण संस्कृत मा.वि . हरुले पाठ्यक्रम लाई एक केंद्र विन्दुमा राखेर अध्ययन गरी वर्तमान समय सापेक्ष विषयवस्तु र आधुनिक संस्कृत विषयको थालनी गर्नाका लागी पहल गर्नु आजका संस्कृतविदहरुको कर्तब्यको कुरा हो | जमाना फेरिदै जांदा युग फेरिन्छ युग फेरीदा समयचक्र ले वातावरण फेरिन्छ र विचार पनि  संस्कृतलाई अघि ल्याउदै गर्दा हामी पछि नपर्ने खालको गोरेटो आजै कोर्न अति आवश्यक भएको छ | संस्कृत विषयमा अनुसन्धान खोज गर्ने विद्वान समूहले पछिल्लो क्रममा आफ्नै तरिकाले काम गरिरहेको छ | र त्यही संस्कृत भाषामा रहेको योग तथा तंत्र शास्त्र पछिल्लो समयमा संस्कृत सरिनै चर्चाको शिखरमा रहेको छ | त्यसमाथि पनि २०१५ जून २१ बाट अन्तराष्ट्रीय योग दिवस मनाउने घोषणा भए संगै योग विषयको अध्ययनमा रूचि लिनेहरू बढेका छन | संस्कृत शिक्षा लिने घट्दै गरेको अवस्थामा संस्कृत वांग्मयको एक पाटो योग विषय विश्वव्यापी रुपमा वैज्ञानिकताको हिसाबले पनि प्रमाणित भएको छ | योग विषयको अध्ययन अध्यापन का विषयमा कुरा गर्दा भाषा संस्कृत भएपनि विषयवस्तु बुझाउनका लागी अंग्रेजी र हिंदी संगै अन्य वस्ताबिक सूत्र र ग्रंथहरू राम्रो संग अध्ययन गर्नाका लागी संस्कृतको ज्ञान हुन जरुरी छ |
            वैज्ञानिक र युगानुकूल विषय भएको प्रमाणित गर्दै भारत सरकारले देशभरका केन्द्रीय विद्यालयमा योग शिक्षक तथा केन्द्रीय विश्वविद्यालय हरुमा योग विभाग अनिवार्य रुपमा खोल्न अनुरोध गरेको छ | भारतमा मात्र केन्द्रीय विश्वविद्यालय सयौं रहेका छन | कतिपय प्रदेशहरुमा निमाबी तह्देखी उच्च मा वि तह सम्म अनिवार्य योग विषयलाई अध्ययन गर्ने पाठ्यक्रम लागू गरेको छ | यो सबै घटनाहरुले आजको वर्तमान घडी नैतिकता,सदाचार र ऋषि प्रणित विद्यालाई  उद्घाटित गर्ने बेला आएको स्पष्ट दृष्टिगोचर भैरहेको छ | तसर्थ हामी पनि सचेत भई छिट्टै नै यस परिपाटीलाई आफ्नै मौलिकता अनुरूप पाठ्यक्रम तैयार गरी संस्कृत र योग मिश्रित शिक्षा  सञ्चालन गर्न पर्ने देखिन्छ |  
             

योगी बालक
देव संस्कृति विश्वविद्यालय हरिद्वार

0 comments:

Post a Comment