Thursday, March 9, 2017

प्रकृतिसंग जोड्दै — देवघाटका युवाहरु

संस्कृत भाषा आफैमा स्वर्णीम भाषा हो । भनिन्छ यो भाषा हाम्रा ऋषिहरुले देवताहरुबाट सापटी लिएका हुन् । त्यसैले यसलाई देववाणी पनि भनिन्छ । देवताहरुले भावना आदान प्रदान गर्ने भाषाको साहित्यले मन नछुने कुरै हुँदैन । भनिन्छ—साहित्य,संगीत र कलाले विहिन मान्छे पुच्छर बिनाको जनावर जस्तै हुन्छ । वास्तविकता पनि हो यी तीन कुराले विहिन मान्छे सायद कम नै हुन्छन् । 
त्यसै त ऋषिहरुको साधनास्थली देवघाट नारायणीको कलकल छलछल , शास्त्रीय छन्दका नियमहरु संगै भावनाहरु बग्न पाउँदा ती कवीमनहरुको रोमकुप देखि शरीरका अनेकौं ग्रन्थीहरु अनायासै खुल्छन् र झनभन्दा झन रसमय काव्य फुट्न पुग्छ । 
म आफैले कुनै समय सुनेको थिएँ अब राष्ट्र्कवी माधव प्रसाद पछि छन्द सुस्त सुस्त लुप्त हुने भो । यस्ता कुरा सुनेको केही महिना पछि छन्द बचाऔं अभियानका कविराज पौडेल , ऋषिकेशव भारद्वाज आदिसंग भेट भएको थियो । म आफैपनि साहित्यमा रुचि राख्ने मान्छे भएकाले साहित्यिक कार्यक्रम सकेसम्म कहिल्यै छुटाउने गरेको छैन । सानैदेखि गुरुकुलीय वातावरणमा हुर्केर संस्कृत पढ्ने मौका मिलेको हुनाले संस्कृतसंग परिचीत छु । जीवनका उतार चढावसंग अनुभूति मिसाउँदा कहिलेकाहीँ झुक्किएरै भए पनि साहित्य फुर्ने गर्छ । 
छन्द संगीत हो । भावना हो । हृदय हो । समाधी हो । आजभोली वैज्ञानिकहरु मान्छेहरुको बुद्धिमा ,तर्क,कुतर्क गर्ने शक्ति बढ्दै गएको र , भावनाशीलता,सृजनशीलता, हृदयको आकार साँधुरो हुँदै गएको छ भन्दै अनुसन्धानको रिजल्ट देखाउदै छन् । अबको केही वर्षमा ८० प्रतिशत मान्छेहरुको मुटुमा पनि यन्त्रको प्रयोग गर्ने बेला आउनेछ । जसले हृदयको आकारलाई बढाओस ।  यस्तो परिणाम देखिनुको पछाडी मान्छेहरुमा भावना,प्रेम,करुणा,दया आदिको कमी भएको स्पष्ट देखिन्छ । आधुनिकताको भयावह परिस्थितीमा युगपुरुषहरुले भनेको युग गरिवर्तनको संकेत संगै उदाएका यी हृदयको भाव फराकिलो पार्नेे युवा कविहरु हुन् — सुदेश सत्याल,नारायण घिमिरे,मनोज भण्डारी,कृष्ण अर्याल , गोविन्द गोपाल खतिवडा यी मात्र उदाहरण हुन् यससंगै आजभोली देशैभरी , देश प्रेम , करुणा, दया, सेवा ,संस्कृति, सभ्यता र  स्वावलम्बन को भावले ओतप्रोत भएका युवाहरु जुर्मुराएर आफ्नो सृजना फैलाइ रहेका छन् अनवरत रुपमा । 

आजभन्दा करीब ९ साल पूर्व को कुरा हो सिद्धार्थ क्याम्पस कपिलवस्तु भएको गजल प्रतियोगितामा प्रथम भए पश्चात मलाई लेख्ने उत्साह झनै बढेर आएको थियो । अझै पनि अनवरत अभ्यास गरिराखेको हुन्छु ।  छन्दमा अभ्यास कहिलेकाँही मात्र हुन्छ । स्वतन्त्र लेखन नै रुचाउँछु म । जहाँ कुनै नियमहरुले मेरो भावनालाई नबाँधोस । हुनत कहिले काँही छन्दमा पनि अनवरत रुपमै भाव वगिरहेको हुन्छ । त्यो कलाको दिव्यतामा भर पर्छ । खै कसोरी त्यो दिव्य सत्ताले प्रेरणा दिदैछ र म यी शब्दहरु लेख्दैछु । सुदेश सत्याल, र गोविन्द गोपाल खतिवडा संगमात्र मेरो भेटघाट भएको छ । मनोज भण्डारी र  नारायण घिमिरे (अहम् श्रष्टा) संग फेसबुकमा मात्र परिचय भएको छ भने कृष्ण अर्यालसंग फेसबुकमा साथीमात्र छौं अझै कुराकानी भएको छैन । 

देवघाट—२, तनहुँ का सुदेश सत्याल अहिलेका प्रखर युवा छन्दकवि हुन् । नेपाली विषयमा स्नातकोत्तर तह अध्ययन गर्दै गरेका कवि आजभोली साहित्यिक गतिबिधिहरुमा ब्यस्त भएको देख्न सकिन्छ । सामाजिक सञ्जाल देखि यु ट्यूबसम्म प्रख्यात यी कवि आवाजका धनी छन् । लेखनशैली जत्तिको रसमय छ त्यो भन्दा अधिक यीनको गायनशैली छ । जस्तोसुकै कवितालाई तान र सुर मिलाएर लयमा प्रस्तुत गर्न सक्ने क्षमता भएर नै सुदेश चर्चित छन् । छन्ददेखि डराउने र छन्द कविता सुन्न नचाहने आधुनिक मनहरु पनि यीनको कविता गायनदेखि मन्त्र मुग्ध हुन्छन् । छन्द कविताहरुको संग्रह अन्तरिक्षको धर्ती पनि यीनकै सृजनाहरुको एउटा सुन्दर फूल हो जो बजारमा सुगन्ध फैलाई रहेको छ । आजभन्दा केहीवर्ष पहिले छन्दवादी समाज नेपाल कपिलवस्तु साखा र केन्द्र संग मिलेर हामीहरुले कपिलवस्तुको गोरुसिङ्गेमा साहित्य महोत्सव तथा राष्ट्र्यि छन्द कविता प्रतियोगिता २०६८ राखेका थियौं । त्यतिखेर उनी पनि प्रतियोगिताका लागि चितवन देखि आएका थिए । उनी चितवनकै गुरुकुलमा पढ्दै थिए । प्रतियोगिहरु मध्ये सबैभन्दा साना उमेरका कवि उनीनै थिए । क्याम्पसको सभागारमा देशैभरका करीब २०० कविहरुमाझ सम्पन्न भएको कविता बाचनमा सबैभन्दा अब्बल कविता थियो सुदेस सत्याल कै । उनले त्यतिखेर देशैभरका खारिएका छन्द कवीहरुको कवितालाई पछाडी पार्दै प्रथम हुन सफल भएका थिए । अरु कविहरुको कविता सुन्दा खासै उत्साहित नभएका सहभागीहरुले उनले हाम्रो देश र म शीर्षकको कविता सुनाउँदा सभागार तालीले गुञ्जायमान बनाएका थिए । दशैभरका अनेका कार्यक्रममा भाग लिने सुदेशले चितवन महोत्सव खुल्ला कविता प्रतियोगिता प्रथम , नेपाल प्रज्ञा प्रतिष्ठान कविता महोत्सव २०७१ मा पुरस्कृत भएका छन् भने ३ दर्जन संघ संस्थाबाट प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत भएका छन् । रचना बाचन भन्दा अगि कुनै मुक्तकलाई ओजनदार तरिकाले प्रस्तुत गर्छन् र आफ्नो रचना बाचन गर्ने उनी प्रेम र सहृदयतालाई यसरी शब्दमा उतार्छन् । — 
खाली ठाउँ थियो भनेर म गएँ , आली लगायौ किन ?
डाली भर्नु थिएन तै पनि हरे , बाली लगायौ किन ? 
जाली मूर्ख थिएँ तथापि अहिले, माली बनायौ किन ?
गाली गर्नु गर्यौ तथापि अहिले ताली बजायौ किन ?
साहित्य समाजको दर्पण हो । जसले समाजको यथार्थलाई उजागर गरेको हुन्छ । चाहे त्यो कविता,मुक्तक,गजल आदि अन्य बिधा नै किन नहोस । साहित्यको जेठो विधा कवितामा मात्र नभएर सत्याल गजल, मुक्तक संगै अन्य विधाहरुमा पनि कलम चलाउने गर्दछन् । कविताहरुमा आत्मविश्वासको सागर बगाउने सत्याल आफुलाई कुनैपनि हिसाबले तल्लोस्तरमा राख्दैनन् । सत्यालले प्रतियोगिताकै समयमा कविताको अन्तिम श्लोक बाचन गर्दा, वरिष्ट भनिएका कविहरु पनि  उनको भाषाशैलीलाई सुनेर रोमाञ्चित हुने गर्दछन् ।— 
माटोमा जति बीज छर्छ जसले, त्यो अन्न बाली म हूँ ।
जन्मे सुन्दर शान्त यो मूलुकमा, शौभाग्यशाली म हूँ ।।
भाषा हो कविता विचार लहरा, आफै महाकाब्य हूँ ।
अर्को एक हुनेछ राष्ट्र्कवि जो, सम्भाब्य श्रष्टा म हूँ ।
पक्कै पनि जसले आफू हुनुको राम्रोसंग बोध गरेको छ । उसले मात्र देश , राष्ट्र र राष्ट्रियतालाई बुझेको हुन्छ । देश प्रेम ,संस्कृति प्रेम र सहृदयताको सम्बन्धलाई उजागर गर्न उब्जीएका विचारहरुलाई कलात्मक तरिकाले प्रस्तुत गरेर प्रेरणा जागाउँछन् उनी । छन्द वेदको उत्पत्तिसंगै भयो । सम्पूर्ण शास्त्र छन्दमै लिपिबद्ध छन् । र सम्पूर्ण पूर्वीय आर्ष परम्परा काव्यात्मक छ । आजभोली उदाएका अनेक साहित्यिक विधाभन्दा छन्दोबद्ध कविता श्रेष्ठ छ र सुन्दर पनि ।

  सकारात्मक कुरा त यो छ कि यी सबै युवा कविहरु आध्यात्मिक उर्जास्थलका साधकहरु हून् । वातावरणको दृष्टिकोणले होस वा आध्यात्मिक उर्जाको हिसावले । निर्मल भाव लिएर बगिरहने नारायणीको तीर आफैमा चक्रहरुको सिर्जनशक्तिलाई उजागर गर्न काफी हुन्छ । त्यसमाथी पनि कर्मयोगको नव आभालाई मिसाउँदा सिद्धिहरु मिल्छन् ,अद्वितीय काव्यहरुको साथ लिएर । समाजमा संस्कृत पढेर तथाकथित कर्मकाण्ड मात्र गर्ने सोंच राख्ने जनमानसका लागि यस्ता उदाहरणहरु समाज परिवर्तनको सुन्दर पक्षहरु हुन् । कुनै समय  संस्कृत पढ्नेलाई हेय दृष्टिले हेर्ने वातावरण बनेको थियो । त्यो चपेटामा म पनि परेको थिएँ । आफुलाई संस्कृत पढेर ठुलै गल्ती गरेछु भन्ने लाग्ने गर्दथ्यो । तर ब्यवहारिक कसिमा आफुलाई नियाल्दा निकै उत्तम काम गरेको रहेछु भन्ने लाग्दछ । त्यसबेला जबरजस्तीनै भए पनि गुरुकुल पढ्न पठाउने दिव्य महानुभावहरुलाई आजभोली हृदयका अन्तरकुनाबाट धन्यवादका भावहरु निस्किराखेका हुन्छन् । खण्डहरमा आएको सोंच राख्ने म कुनै समय यस्तो अनुभव भो योत महासागर पो रहेछ । जसबाट जति मोति निकाल्न सक्यो त्यति प्रतिभा चम्किदै जाने । संस्कृत शिक्षाको बहुआयामिक पक्षलाई चिनाउन पनि हाम्रा यी नव श्रर्जकहरु सुन्दर खम्बा बनेको मैले महसुस गरेको छु । 

चितवन कै गोलो गोलो अनुहार भएका ,मध्यम कदका , जतिखेर पनि हँसमुख देख्न सकिने , हिस्सी परेका अर्का कवि हुन् मनोज भण्डारी । उनी पेशाले विद्यार्थी हुन र शिक्षक पनि । आफुले पढीरहेकै परमानन्द संस्कृत गुरुकुलमा संस्कृत अध्यापन गराउछन् । भावनात्मक हिसावले म मनोज संग निकट छु । धेरै स्वभावहरु मिल्छन् । मान्छे भौतिक रुपमै भेटिन्छ भन्ने हुदैन भावनात्मक रुपले पनि भेटिदो रैछ । त्यसमाथि कविमन भएकाहरुलाई भावना आदान प्रदान गर्न असहज पक्कै हुदैन । भौतिक रुपमा हाम्रो भेट नभएपनि भावनात्मक रुपमा राम्रैसंग भएको छ । वैज्ञानिक शोधले संसारलाई आजभोली साँधुरो बनाएको छ । त्यसैको प्रयोगले गर्दा म औपचारिक रुपमा भेट नभएको व्यक्तित्वको बारेमा पनि यसरी शब्दहरु लेख्ने प्रयास गरिराखेको छु । सुदेश सत्यालको पछि पछि ब्यापक रुपमा चर्चामा रहेका व्यक्ति हुन मनोज । मनोजको गजल , कविता, आदि साहित्यिक विधामा राम्रो दखल छ । तथापि उनी साहित्यिक विधाको विषयमा आफुलाई अल राउण्डर भन्न रुचाउँछन् । उनी संस्कृत व्याकरणका विद्यार्थी हुन् । नेपाल संस्कृत विश्वविद्यालय स्नातक तहमा विश्वविद्यालय प्रथम स्थान हासिल गरेका उनी गोल्डमेडलिस्ट पनि हुन् । यो कुराले के स्पष्ट  हुन्छ भने भोलीका दिनहरुमा नेपाली जगतमा संस्कृत विषयका मूर्धन्य विद्वान पनि बन्ने पक्का पक्की छ ।  फुर्सदको बेला पुस्तक,पत्रपत्रिका सम्पादन पनि गर्छन उनी । चितवन कै सिनर्जी रेडियोमा छन्द विकासका लागि विशुद्ध छन्द कविता कार्यक्रम पनि प्रस्तुत गर्ने देखि देवघाट साहित्य प्रतिष्ठानका अध्यक्ष । परमानन्द विद्यार्थी कल्याण परिषद् अध्यक्ष । विविध संस्थामा आबद्ध हुँदा हुदै पनि साहित्यलाई सल्र्लकै घोटेर पीइसकेका छन् । हाम्रो आश्रममा साहित्यिक कार्यक्रम गर्दा मनोजलाई बोलाईयो तर विडम्बना बस पढ्ने प्यासले नछोडेका कारण म  हरिद्वार थिए । तर पनि हाम्रो कुराकानी निरन्तर भैनै राखेको हुन्छ आन्तर्जालको माध्यमबाट । उनी अनेक छन्दमा कलम चलाउँछन । छन्दको राम्रो अभ्यास र अध्ययन पनि छ । स्वाध्यायमा निकै निकट रहने मनोज । जीन्दगीका साना कक्षाहरु अंग्रेजी माध्यमको विद्यालयमा बितएका हुन् । 

निकै उत्साह र गर्वको कुरा के छ भने मनोज एक आध्यात्मिक साधक पनि हो । उनको अध्यात्म रुचि रहरलाग्दो नै छ । यो कुराको जानकारी मलाई मित्रमणि खनाल र गोविन्द गोपाल खतिवडाले गराएका थिए । धार्मिक तथा संस्कृत क्षेत्रमा केही नयाँ उत्कर्ष गर्ने सोंच भएका उनी स्नातकोत्तर तहको अध्ययनलाई विशिष्ट तरिकाले अगि बढाउन चाहन्छन् । लक्ष्मी प्रसाद देवकोटाले भने झैं बोक्रे विद्वानले गन्हाएको समाजमा यस्ता युवाहरु उदाउनु पक्कै पनि देशलाई गर्वको विषय हो । ह्रस्व , दीर्ध , देखि शब्द समायोजनका विषमा बेला बेला विवादमात्र हुने प्राज्ञहरुको होडबाजीमा यस्ता रहरलाग्दा युवाहरुले धारिलो धार बनेर समस्या निर्मूल पार्नेमा कुनै शंका छैन् । साहित्यिक गतिविधि संगै आध्यात्मिक साधना,यज्ञ,प्रवचन आदि पनि उनको विषय हो । बेला बेलामा भागवत देखि , धार्मिक प्रवचन , प्रशिक्षण आदिमा संलग्न भएको देख्न सकिन्छ । वढ्दै गैराखेको आधुनिक परिवेशमा पनि नितान्त नैष्ठिक तरिकाले प्राकृतिक नियमहरुलाई पालना गर्ने र पूर्वीय सभ्यतालाई अंगाल्ने गर्दछन् उनी । नेपाली माटो, नेपाली मन र जीवनका अनेक आयामहरुलाई नजिकबाट नियालेर अनुभव गर्ने मनोज कविता बाचन गर्दागर्दै भाव बिभोर पनि बन्न पुग्छन् कहिलेकाँही । 
यो भूकम्प अधाउँदैन कि कसो खायी सयौं को बली ।
ए आमा कसरी दिउँ म कविता लेखेर श्रद्धाञ्जली ।।
जहाँ पुग्दैनन् कवि, त्यहाँ गुग्छन कवि । भावनाको चित्तस्थलमा पुगेर हृदयको आकारलाई फराकिलो पार्दै सबैमा आफुलाई समेट्न सक्ने क्षमताले पोशीत छन् उनी । भावना , प्रेम , दया , करुणा, सहयोग सामान्य मान्छेहरुमा भन्दा बढी हुन्छ कवि मनहरुमा । देश राष्ट्रियता , संस्कार , संस्कृति , सभ्यता आदि विषयमा खोक्रो हुँदै गइराखेको छ । यस्तो अवस्थामा मनोजका कवितामा संस्कार , संस्कृति र सभ्यताको झलक आउनु , युवाहरुमा देखिएको राष्ट्र प्रतिको प्रेमनै हो भन्न सकिन्छ । ऋषिहरुको स्थली नेपालमा पुन ऋषिमनहरुको आगमनको संकेत स्पष्ट दृष्टिगोचर हुन्छ । चाहे त्यो कवि हुन वा अन्य क्षेत्रका जुझारु युवा मनहरु जो देश र समाजलाई परिवर्तन गर्न तत्पर छन् ।  
सकारात्मक हुँदै आशाका भाका गाउने मनोज । नेपाली मनहरुलाई आह्वान गर्छन् । नआत्तिनुहोस हाम्रा सुनौला दिन फिर्दैछन् भन्न पनि पछि पर्दैनन् । अन्याय,अत्याचार,दुराचार,भ्रष्ट्राचारले जकडेको देख्दा भुटभुटी हुने उनी आफ्ना शब्दबाटै आफ्ना वेदनाहरु पोख्ने गर्दछन् । छन्दको पुनर्जागरण काललाई आजभोली देवघाटका यी युवाहरुले आफुसंगै अघि बढाईरहेकाछन् । यो काललाई स्वर्णीम बनेको देख्दा यीनका पछीपछी अन्य युवा देखि प्रौढ मनहरु पनि छन्द लेखनमा उत्साहित भएका छन् ।  
महेश संस्कृत गुरुकुलमा अध्ययनरत तनहूँ कै अर्का तेजस्वी एवं प्रखर श्रष्टा हुन अहम् श्रष्टा ( नारायण घिमिरे) । गजलमा विद्यावारिधी गरेका घनश्याम परिश्रमी समेत उनको गजल लेखन देख्दा नतमस्तक हुन्छन् — एकै दिनमा अनेकौं गजल लेख्न सक्ने आशु लेखन शैली भएका यी युवा हामीलाई पनि मात दिदैछन् भन्दै प्रशंसा गर्न पनि पर्दैनन् । संस्कृत राम्रोसंग अध्ययन गरेका विद्यार्थीलाई शब्द प्रयोग गर्दा कलम टोकिरहनु पर्दैन । एउटै कुरालाई अनेकौं समानार्थी शब्दले समायोजन गर्न सक्छन् उनीहरु । गजल मात्र नभएर कविता, देखि साहित्यका अन्य विधामा पनि यीनी दख्खल राख्ने गर्दछन् । कहिलेकाँही त संस्कृत भाषाको सृजना समेत फेसबुकको वालमा देख्न सकिन्छ । 
औपचारिक रुपमा अहमसंग पनि मेरो भेट भएको छैन । केही दिन पहिले भाइलाई महेश गुरुकुल मा भर्ना गर्ने विषयमा उनीसंग छोटो कुराकानी भएको थियो तत्पश्चात हाम्रो कुरा भएको छैन । फेसबुकमा साथी भएका कारण वालमा पोष्टहुने सृजनाहरु पढेकै हुन्छु । यी युवाहरुको लेखनशैली नै यस्तो छ । कविता सुरुवात गर्नासाथ शब्दहरुले नराम्रोसंग छोप्ने गर्दछ र पाठक नपढी रहन सक्दैन । पाठकहरुलाई सृजनामा चपक्स समातेर राख्न सक्नै शैलीले नै अहिले यीनीहरुका कविता स्वदेश देखि विदेश सम्म फैलिएको छ । 
केही दिन पहिलेको कुरा हो देवघाटका यी कविहरुलाई चितवनको एक संस्थाले एउटै मञ्चबाट प्रस्तुत गराउने प्रयत्न गरेको थियो । आजभोली कार्यक्रममै सहभागी हुन नपाए पनि यू ट्यूब मार्फत भिडियो हेर्ने ब्यवस्था मिल्ने हुँदा निकै सजिलो हुन्छ, साहित्यिक कार्यक्रमहरुसंग जोडिन । सुस्त सुस्त जनमानसको हृदयमा बस्न सफल यी युवा भोलीका देश निर्माता पक्कै हुनुपर्दछ ।
मित्रमणि खनालले भावातीत ध्यान सिकेर गैसके पश्चात केही महिना पछि हाम्रो आश्रम घुमाउन लिएर आएका ब्यक्ति हुन् गोविन्दगोपाल खतिवडा । देवघाटमै घर भएका उनी अध्ययन पनि त्यहीँकै गुरुकुलमा गर्छन् र अध्यापन पनि । शास्त्री स्नातक तह नब्य ब्याकरणबाट गरेका उनी कविता,गजल,मुक्तक,निबन्ध लेखनमा बढी रुचि राख्छन् । फुर्सदको बेला भ्रमण ,कला, खेलकुदमा आफुलाई ब्यस्त राख्ने गर्दछन् । चस्मा लगाउने अलि अलि कालो ,जीउडाल टम्म भएका ब्यक्ति हुन् उनी । उनले पनि कविता गजल लेख्छन भन्ने कुरा भेटपछि मात्र थाहा भएको थियो । आश्रमा बस्दै गर्दा उनले आफ्ना केही सृजना मलाई सुनाएका थिए । उनको लेखनशैली पनि राम्रो छ । उपन्यास,कथा, एवं अन्य साहित्यिक विधाका पुस्तकहरु पढ्ने रुचि भएका उनीसंग अनेकौ पुस्तकका बारे समीक्षा संगै मीठो सत्संग पनि भएको थियो उतीखेर । मित्रमणि कविता सुन्न रुचाउँछन् । उनी वेदान्तका फ्यान नै हुन र शोधकर्ता पनि । आफुलाई आध्यात्मिक हिसाबले अब्बल बनाउन चाहने ब्यक्ति हुन उनी । गोबिन्दसंगको उनको मित्रताले मलाई नयाँ साथी बनाउन सहज भएको थियो । त्यसका लागी मित्रमणिलाई धन्यवाद दिन चाहन्छु । गोबिन्द द्वारा नै मलाई देवघाट एवं त्यहाँको बस्तुस्थिति बारे जान्ने मौका मिलेको थियो । साहित्यमा बढी रुचि राख्ने भएको हुनाले मैले साहित्यिक विषयमा बढी छलफल गरेको थिएँ । महेश गुरुकुलमा हुने साहित्य उत्सब र परमानन्द गुरुकुलमा हुने काब्य सरिता उत्सबका बारे पनि गोविन्दबाटै जानकारी मिलेको थियो । 
जीवन अनवरत यात्रा हो सबै एउटै विधामा विकसित हुँदैनन् र यो सम्भव पनि हुँदैन् । भावना मिल्नेहरुको मन र स्वभाव मिल्नु स्वभाविक हो । बस भर पर्छ त मात्र सोंच्ने दृष्टिकोणमा । कसै कसैलाई लाग्न सक्ला सिमित व्यक्तिहरुको मात्र चर्चा भयो । यो त बस मेरो आफ्नो मनमा लागेका कुराहरु हुन जो म स्वतन्त्र रुपमा बाँड्ने कोसिस गरिराखेको छु । मैले यत्ति देखें । अरुले अझ धेरै देखेको होला । मनमा लागेका भावनाहरुलाई दैनन्दिन रुपमा लेख्ने बानी छ मेरो त्यही बानीका उपजहरु हुन् यी शब्दहरु । 
दुर्गा वैदिक आश्रम नयाँमिलबाट अध्ययन पुरा गरी उच्च शिक्षाका लागि देवघाट गएका पश्चिम नेपाल गुल्मी आँपचौर का अर्का जुझारु यात्री हुन कृष्ण अर्याल । यीनी नाम जस्तै अलि अलि काला र दिलवाला पनि छन् । गजल , कविता , मुक्तक, कथा  संगै यीनको फेसबुक वालमा गद्य भाषाशैली पनि कहिलेकाँही देख्न सकिन्छ । अचम्मको कुरा त के छ भने उनी चाउचाउ औधि मन पराउँछन् । सामाजिक सञ्जालमा अनेक विषयवस्तुलाई मसाला बनाएर स्टाटस बनाउन खप्पिस कृष्ण रजस गुणले युक्त छन् । भोलिका दिनहरुमा यीनको भूमिका कर्मयोग तर्फ बढी उन्मूख हुने देखिन्छ । अध्ययन संगै साहित्य रुचिलाई ध्यान दिने यीनी भोलीका सुन्दर गद्यकार पनि हुन् । यीनीभित्र गद्यलेखन शैलीको पनि राम्रो बीज लुकेर बसेको देख्न सकिन्छ ।  उनले बहर बहार को खुल्ला नेपाली गजल प्रतियोगिता २०७३ मा प्रथम स्थान हासिल गरेका पनि छन् ।

कविता प्रकृतिको रस हो र स्वभाव पनि । शंकराचार्य भन्छन् न जडं क्वचिद् अर्थात्—यो संसारमा त्यस्तो कुनै चीज  छैन जसमा चेतना नहोस् । चेतना नै कविता हो र दिव्य सत्ताले भाव आदान प्रदान गर्ने भाषा पनि कविता हो । हाम्रा ऋषिहरुले पनि काब्यलाई देख्ने गर्दथे र समाजलाई कविताबाटै ज्ञान दिने गर्दथे । सम्पूर्ण आर्ष ग्रन्थहरु कवितामै समेटिएका छन् । आजको आधुनिक समयमा विज्ञान आफ्नै धुनमा अगि बढी राखेको छ भने त्यसलाई चाहिँदो अंकुश लगाउन ज्ञान पछि पछि दौडिराखेको छ । त्यही ज्ञानको मुहान फुटाउन जन्मेका युवा कविहरु पतञ्जलि, कालिदास, सेक्सपियर,अरस्तु र देवकोटा आदिले दिएर गएको पथलाई निर्मल बनाई राख्नेछन् । र बसुधैव कुटुम्बकम् को भाव सबैमा जागृत हुनेछ । 

कवितामा वर्णन गरिएका स्वदेश प्रेम , संस्कृति प्रेमका लाइनहरु सुन्दा शरीरका रौंहरु ठाडा हुन्छन् । कविताले आनन्द संगै उत्पे्ररणा पनि दिन्छ । आकाश फराकिलो छ भनिन्छ त्यो फैलिदै पनि छ । आकाशबाटै शब्द निस्कने गर्दछन् । हामी सबैले पनि आ—आफ्नो हृदयाकाशलाई फराकिलो बनाउन सके सायद त्यसबाट प्रेम , करुणा, दया, र सद्भावनाका शब्दहरु सिर्जना हुन सक्थे कि । माथी वर्णन गर्न खोजिएका युवाहरु त मैले चिनेका मात्र भए र उदाहरण मात्र त्यसको अलावा पनि देवघाटले अनेकौं ऋषिमनहरुलाई कँुदीरहेको छ । जुन कालान्तरसम्म चलिरहनेछ । साहित्यको यो सुन्दर फुलबारी हो जसले हिमाल,पहाड र तराईलाई जोडीराखेको छ, भाषा भाषी , जातजाती र सम्पूर्ण संस्कृतिलाई जोडेको छ । यस्तै अनेकन युवा तैयार गरोस नारायणीले र सिञ्चोस देशैभरीलाई नवसृजनाले । योगभूमि , ऋषिभूमि , देवभूमि भनेर चिनिएको सुन्दर नेपालको एक कुनामा बसेको देवघाट आफैमा सुन्दर छ । जहाँ वाल्मिकी रामायण लेख्छन् , त्यही ठाउँ साहित्यको राजधानी बनेको छ । राजधानी साहित्यमात्रको नभएर भोलिका दिनहरुमा संस्कृत शिक्षाको पनि हुने पक्का पक्की देखिन्छ । हिजोका दिनहरुमा संस्कृतको लागि बनारस,हरिद्वार जाने प्रचलन प्राय  समाप्त भएको छ । त्यसमा अहम् भूमिका खेलेको छ देवघाटले । तथापि आजभोली देशैभरी संस्कृत शिक्षाको विस्तार गुरुकुल देखि निजीस्तरका विद्यालयबाट समेत सुरु भएको छ । भविष्यका लागि संस्कृत पढेका कर्मठ युवा परिर्वनको यज्ञमा होमिने पक्का पक्की छ । आजैबाट साहित्यको आधार बनाएका यस्ता भावानाशील मनहरुले भोलिका दिनमा समाजलाई सकारात्मक दिशा पक्कै दिनेछन् । मेरो यही शुभकामना ।


ध्यानको कक्षामा अनायास प्रेरणा मिलेको थियो केही लेख्नु पर्छ देवघाटका युवा कविहरुका बारे । साँझ भोजन पश्चात विश्रामको बेला ल्यापटप खोलें र दौडाएँ हातका औंलाहरु र सुरुगरें टङ्कण गर्न । यी शब्दहरु नीतान्त मेरा ब्यक्तिगत अनुभूतिहरु हुन् । भावनाको मूल अनायास फुट्यो त्यसलाई सजाउँदै जाँदा यस्तो रुप बन्यो के बन्यो मैलाई थाहा छैन । र अन्त्यमा सुदेश सत्याल, मनोज भण्डारी,अहम् श्रष्टा, गोविन्द गोपाल खतिवडा,र कृष्ण अर्याललाई अनुमति बिना नै भावाभिव्यक्तिहरु अभिब्यक्त गर्ने धृष्टता गरेको हुँदा क्षमा माग्न चाहन्छु । भनिन्छ मनस्थितीले परिस्थिती बदल्ने गर्दछ । मैले प्रकृतिसंग जोडिएको संस्कृत र संस्कृतसंग जोडिएका कविहरुको भावाभिब्यक्तिले पक्कै अधिकांश मनस्थितीलाई सकारात्मक बनाउने प्रयास गरेको देखेको छु । यो सत्य पनि हो । जीवनचक्रमा कुनैदिन धुम्दैगर्दा तपाईहरुसंग भेट भैहाले भावालिङ्गनको सागमा डुबुल्कि मार्ने बाचा सहित शब्दहरुलाई बिराम दिन्छु । यस्तै चेतनाको बिस्तारमा आफुलाई बिस्तारित गर्दै जानुहोस शुभकामना । 

कहिँकतै सुधार्नु पर्ने भए मलाई सुचना दिन सक्नुहुनेछ ।
 धन्यवाद । 
कमल पौड्याल
योग एवं स्वास्थ्य विभाग
देव संस्कृति विश्वविद्यालय हरिद्वार 

0 comments:

Post a Comment