Friday, May 20, 2016

आउनुहोस् सभ्य संस्कारवान पीढी बनाऔं ।

—डा.विष्णु अर्याल विशालानन्द

         प्रत्येक आमा बाबुको हार्दिक इच्छा यही हुन्छ कि हाम्रो सन्तान अति राम्रो,असल,संस्कारवान,बुद्धिमान एवं स्वस्थ होस् । त्यसको लागि गर्भावस्था देखिनै शिशुको शारीरिक,मानसिक,आध्यात्मिक विकास गरेर त्यसलाई चाहेजस्तो साचोमा ढाल्न सकिन्छ । हाम्रै घरमा पनि राम,कृष्ण,बुद्ध,मोहम्मद,ईशा,जनक,सीता,भृकुटी जस्ता प्रतिभाशाली एवं दिब्य सन्तान जन्मलिन सक्छन् । त्यो कसरी संभव छ त ? जानिराखौं केही तथ्यहरु ।
    वास्तवमा सन्तानको निर्माण जन्मेपछि होइन जन्म पूर्व नै गर्भकाल देखि आरम्भ हुन्छ र जन्मसम्म लगभग ८० प्रतिशत पूरा भैसकेको हुन्छ । यो प्रक्रिया हामीले देखिन्न तर सूक्ष्म रुपमा यसको विकास भैरहेको हुन्छ । जस्तै टेपरिकार्डरले जसरी आवाजलाई अंकित गर्दछ त्यसरी नै आमाको मनमा उठ्ने राम्रा नराम्रा सबै बिचार एवं भावनाहरु शिशुले आफ्नो स्मृतिमा समेट्छ । ऊ पूर्ण रुपमा आत्म चैतन्य (Soul Conscious पनि हुन्छ । जीवात्माले पूरानो शरीर छोडिसकेको हुन्छ र नयाँ शरीरले केही अनुभूति गरेकै हुदैन त्यसैले त्यसको अवचेतन मन ( Sub Conscious mind ) ले सबै अनुभूतिलाई आफ्नो स्मृतिमा राख्दै जान्छ । आमाको सोंचाई , भावना एवं ब्यवहारको गर्भस्थ शिशुमा गहिरो प्रभाव प्रर्दछ । शिशुको विकासका लागि आमालाई अनुकूल आहार विहार जति आवश्यक छ त्यति नै आवश्यक राम्रो वातावरणको छ , जसले उनको मनलाई सात्विक,पवित्र,प्रसन्न चित्त र प्रफुल्लित राख्छ ।

वैज्ञानिक अनुसन्धानहरुको निष्कर्ष ः—
    वैज्ञानिकहरुले अल्ट्रासाउण्ड तथा अन्य वैज्ञानिक अनुसन्धान द्वारा प्रमाणित गरेका छन् कि गर्भ मै बच्चाले स्वाद लिन्छ,सुन्छ,याद गर्छ ,सिक्छ,बुझ्छ,खुसि हुन्छ ,दुखाई महसुस गर्छ , दुखि हुन्छ , रुन्छ , तनावग्रस्त पनि हुन्छ ,र ऊ कयौं भाषा आदि सिक्ने क्षमता पनि राख्दछ ।

१. नकारात्मक सोचाई , कुपोषित , तनावग्रस्त एवं क्रोधी आमाको बच्चा रोगी , चिडचिडा , रुन्चे, रिसाहा, उदास ,अबुझी, भावनात्मक एवं ब्यवहारिक विकारहरुले ग्रसित जन्मिन्छ ।
२. स्वस्थ , प्रसन्न , सकारात्मक विचार एवं सन्तुलित सात्विक खाना खाने आमाको बच्चा प्रसन्न, तनावमुक्त, व्यवहारकुशल,शान्त,सही निर्णय लिने , समझदार, एवं प्रत्येक क्षेत्रमा सफल हुन सक्छ ।

बच्चाको राम्रो विकासका लागि आवश्यक कुराहरु

पति एवं परिवारका सदस्यहरुको कर्तव्य ः— गर्भवतीको लागि स्वस्थ,सुखमय,प्रसन्न एवं आध्यात्मिक वातावरण बनाउने ।

आमाको कर्तव्य ः— नियमित एवं स्वस्थ दिनचर्याको पालन गर्ने । नित्य नियमित योगासन,जप ,ध्यान, प्रार्थना एवं प्राणायाम आदि गर्ने र आफ्नो धार्मिक ग्रन्थहरुको पाठ गर्ने । महापुरुषको जीवनी,चरित्र, आदिका पुस्तक अध्ययन गर्ने , डरलाग्दो र उत्तेजित बनाउने खालका पुस्तक नपढ्ने । प्रतिदिन चार घण्टा राम्रो सुखदायी संगीत सुन्ने, गर्भमा शिशुसंग सकारात्मक कुराहरु गर्ने , कथाहरु सुनाउने, सत्संग आदि सुन्ने । आफ्ना राम्रा र प्रेरणा दिने सुखद दिनहरुलाई याद गरेर स्वस्थ , प्रसन्न र सकारात्मक रहने । घरमा राम्रा प्राकृतिक र प्रेरणा दिने महापुरुषहरुका फोटा राख्ने । तारेको भुटेको र धेरै मसलादार होइन , पौष्टिक,सन्तुलित,सात्विक एवं संस्कारित भोजन शान्त मनले बनाउने खाने दुवै गर्ने । ईष्र्या ,द्वेष, हठवादिता रुखो व्यवहारहरुबाट बच्ने । दया,करुणा,सेवा, भावको अभ्यास गर्ने। डरलाग्दो र उत्तेजना युत्त, धारावाहिक या सिनेमा नहेर्ने । घरमा आस्तिकताको वातावरण बनाउन सामूहिक प्रार्थना,पूजा,आरती,साधना,उपासना, भजन कीर्तन आदि गर्ने ।

गर्भवतीको आदर्श दिनचर्या ः— सकभर ब्रह्म मुहूर्तमा अन्यथा सूर्योदय पूर्व उठेर ध्यानमा बस्ने । उषापान नित्य क्रिया पछि गर्भावस्थामा गर्न दिइएका योग,व्यायाम,प्राणायाम, आदि सम्पन्न गर्ने । गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्रको जप उदाउँदो सूर्यको ध्यान, सूर्यको प्रार्थना –अध्र्यदान) अवश्य गर्ने । प्रातःकालमा अवचेतन मन ज्यादा क्रियाशील हुने हुँदा त्यसबेला सुविचार एवं सकारात्मक चिन्तन गर्नाले आमा र बच्चाको मस्तिष्कमा श्रेष्ठ विचार बन्न मद्दत गर्दछ । सन्तुलित आहार तालिका अनुसार खाना नास्ताको व्यवस्थ ागर्ने । दिनमा १—२ घण्टा र रातमा ६—७ घण्टा आराम गर्ने । साँझमा पनि प्रार्थना एवं मन्त्र जपको संक्षिप्त क्रम चलाउने । साँझमा सुत्नु भन्दा दुई घण्टा पहिले हल्का भोजन गर्ने । सत्साहित्य अनिवार्य पढ्ने । तत्वबोधका साथै सबै चिन्ताहरुबाट मुक्त भएर परमात्माको काखमा सुतेको अनुभव गर्ने ।

महत्वपूर्ण  कुरा ः— सधैं ध्यानमा राख्ने कि मेरो गर्भमा एउटा दिव्य आत्मा विराजमान छ । त्यसमा महान व्यक्तित्व भर्ने सुअवसर परमात्माले मलाई प्रदान गरेका छन् । यो शिशु ठूलो भएर मेरो , परिवार ,समाज , एवं राष्ट्रको गौरव बढाउनेछ ।

ध्यान राख्नुपर्ने कुराहरु ः— गहर््ुङ्गो भारी नबोक्ने, भय, क्रोध, उद्वेग उत्पन्न गर्ने परिस्थिती आउन नदिने । डाक्टरको सल्लाह विना कुनै औषधि नखाने । ठूलो आवाजमा संगित नसुन्ने । डरलाग्दो र काटमार भएको फिल्म नहेर्ने । धुम्रपान र अधिक चिया,कफि सेवन नगर्ने । आलस्य प्रमाद,दोष खोज्ने, आलोचना गर्ने आदिमा आफ्नो समय खेर नफाल्ने ।

गर्भावस्थामा गर्नुपर्ने अभ्यासहरु ः—स्वस्थ रहन र सामान्य प्रसवका लागि केही सरल र सहज व्यायामहरु गर्दै रहनु पर्दछ । जस्तै ः— विहान साँझ घुम्ने,कम्मरको व्यायाम,ताडासन,उत्कटासन,शवासन,मूलबन्ध,पेल्विकफ्लोर र सूक्ष्म व्यायाम आदि गर्नु पर्दछ ।

प्राणायाम (ब्रीदिङ्ग एक्सरसाइज ) ः— आमाले लिएको सासबाटै बच्चाले पनि अक्सीजन पाउने हुनाले प्राणायाम, अत्यन्त आवश्यक छ । त्यसमा जस्तै ः गहिरो सासको अभ्यास, अनुलोम—विलोम , प्राणाकर्षण,भ्रामरी, आदि गर्नु पर्छ ।
ध्यानयोग ः— ध्यान भनेको एकाग्रता हो भने योग भनेको जोड्नु हो । कुनै पनि विचार हाम्रो मनमा १७ सेकेण्ड रहन्छ भने त्यसले परिस्थिती निर्माण गर्दछ । शान्त, स्वच्छ स्थान या देवालयमा ढाड , कम्मर, गर्दन सीधा गरेर बस्ने , सद्बुद्धिको कामना गर्दै गायत्री, इष्ट मन्त्र या नाम जप गर्दै परमात्मा, दिपक उदाउँदो सूर्य आदिको ध्यान गर्ने । ती दिब्य गुणहरु गर्भस्थ शिशु सम्म पुर्याएमा शिशुलाई स्वस्थ एवं संस्कारवान बन्न ठूलो मद्दत पुग्छ । सूर्योदय र सूयाूतको समयमा १५ मिनेट ध्यान जरुर गर्ने । गर्भस्थ शिशुको मंगलकामना गर्दै — “तिम्रो कल्याण होस् , तिमी मेरो गर्भमा आएर मलाई मातृत्व प्रदान गर्यौ । यसका लागि म कृतज्ञ छु । तिम्रो उत्तम शारीरिक मानसिक एवं आध्यात्मिक विकास होस । गर्भावस्थामा तिम्रो चेतना ईश्वरको दिव्य गुणहरु र श्रेष्ठ संस्कारहरुले परिपूर्ण भएर विकसित होस् ।” त्यसपछि दुवै हात दलेर आँखा र अनुहारमा लगाउँदै ध्यानबाट बाहिर आउने ।

गर्भस्थ शिशुको मानसिक स्वास्थ्य ः — मनोवैज्ञानिक एवं शिशु रोग विशेषज्ञहरुको मान्यता छ कि वर्तमान समयमा लगभग ७० प्रतिशत बच्चा जन्मजातै तनावग्रस्त हुन्छन् । ती बच्चामा कुण्ठा , अवसाद , आत्महत्याको लहड चल्छ । यसो हुनुको कारणहरु हो , गर्भवती तनावग्रस्त हुनु । परिवारमा कलह क्लेश , लडाई, झगडा, नारी उत्पीडन आदि नोकरी गर्ने महिलाहरु कार्यक्षेत्रमै पनि तनावमा हुन्छन् । दुखद उपन्यास पढ्ने तथा अपराधिक सिनेमा आदि हेर्नु । दाम्पत्य जीवन तनावपूर्ण हुनु । धेरै परिवारमा गर्भवतीलाई यदि छोरी भए म हेला हुन्छु कि भन्ने तनाव पनि रहन्छ । यी परिस्थितीहरुले शिशुको मानसिक विकासमा गंभीर प्रभाव प्रर्दछ । त्यसैले गर्भवती स्त्री पति र परिवार सबै सदस्यहरुले तनाव उत्पन्न गर्ने व्यवहार गर्नै हुन्न ।

तनाव मुक्त कसरी रहने ? ः— W.H.O भन्छ शारीरिक, मानसिक,समाजिक एवं आत्मिक दृष्टिले स्वस्थ हुनु नै पूर्ण स्वस्थ हो । यो सबको पूर्ति स्वाध्याय र सत्संगबाट हुन्छ । गर्भवतीले सत्साहित्य , धर्मग्रन्थ , महापुरुषहरुको जीवनी प्रेरणाप्रद कथा प्रसंगहरु पढ्नु पर्दछ । जसले गर्दा आमा पनि तनाव मुक्त र शिशुमा पनि राम्रो प्रभाव पर्दछ ।

गर्भस्थ शिशुसंग वार्तालाप ः— गर्भस्थ शिशुसंग आमाको संवाद हुँदै रहनु पर्दछ । किनकि स्वाध्याय,पूजा,प्रार्थना,ध्यान,प्राणायाम गर्दै रहँदा या फुर्सदमा गर्भमा मुसार्दै करुाकानी गर्नु पर्दछ । त्यसैगरी बाबुले दिनमा एक दुई पटक शिशुसंग कुराकानी गर्नु पर्छ । यसो गर्दा बाबु र शिशु बीचको भावनात्मक सम्बन्ध बढ्छ । विदेशमा त अचेल यसको बकाइदा प्रशिक्षण नै चल्न थालेको छ ।

गर्भोत्सव अवश्य मनाऔं ः— मानव जीवनको सफलता का लागि गर्भस्थ शिशुलाई प्रखर , प्रतिभाशाली,बुद्धिमान,सुयोग्य,संस्कारित,शारीरिक बौद्धिक एवं भावनात्मक रुपले स्वस्थ र सक्षम बनाउन गर्भवती,उनका पति र परिवारजनहरु बसेर गर्भोत्सव मनाऔं र परिवारमा उत्कृष्ट वातावरण बनाउन आ—आफ्नो तर्फबाट प्रतिज्ञा पनि गरौं । सबैले कुरा बुझौं र छरछिमेकमा पनि बझाउने प्रयास गरौं । प्रज्ञा अभियान नेपालको तर्फबाट “ नवदम्पति शुभकामना तथा गर्भवती सुलभ साधना” एक दिने शिविर संचालन गरेर सबैलाई संस्कारवान पीढी बनाउने प्रेरणा दिने हाम्रो कार्यक्रम छ । इच्छुक संघ संस्था वा आमा समूहहरुले सम्पर्क राख्न सक्नुहुनेछ ।

सम्पर्क सूत्र ः —प्रज्ञा अभियान नेपाल तथा भारत हरिद्वार
डा. विष्णु अर्याल विशालानन्द
नेपाल मोबाईल नं ः ९८४३४०८७१२,
भारत मोबाईल नं ः ९२५८३६९४६९÷९७१९८०५२७२

0 comments:

Post a Comment