Thursday, November 17, 2016

स्वयंलाई जानौ ,जीवनलाई सार्थक बनाऔं ||

          हामी धेरै कुरा जान्दछौं , धेरै याद पनि गर्छौं ,धेरै बुझ्छौं र अरुलाई ज्ञान दिन वा अर्ति उपदेश दिन पनि पछि पर्दैनौ ,यतिसबै हुँदाहुँदै पनि आफैलाई भूलिराखेका हुन्छौं । हामी जीवनमा धेरै कुराहरु पाउन चाहन्छौं त्यसैका लागि बिभिन्न जुक्ति लगाइ राखेका हुन्छौं । यी सबै कुराहरु गरीरहदा हामी आफुलाई खोज्ने र चिन्ने प्रयास कहिँ कतै गरेकै हुँदैनौ । जसले स्वयंलाई बुझ्न सकेको छैन, खोज्ने प्रयास गरेको छैन , स्वयंलाई प्रेमगर्न सिकेको छैन उसको लागि अरुलाई चिन्न र जान्न पनि उत्तिकै असम्भव हुन्छ । वास्तवमा यो संसारमा हामीले जतिसुकै चीज पाएका हौंला ,कतिनै ईष्ट बनाएका हौंला,ईज्जत,सम्मान जम्मा गरेका हौंला यी सबै कुराहरु बिना आत्मोपलब्धि अधुरा अपूरा छन् ।
आफुलाई जान्ने र बुझ्ने कुरा यस्तो सकारात्मक प्रयास हो , जसको माध्यबाट हामीले आफ्नो जीवनमा आएका नकारात्मक कुराहरुलाई हटाउन सक्दछौं , स्वयं को महत्वलाई बुझ्न सक्दछौं , आफ्नो प्रतिभालाई सुनियोजित गर्न सक्दछौं र जीवनमा त्यस्ता कुराहरु पनि हासिल गर्न सक्दछौं जो आजसम्म हामीले हासिल गर्न सकेका थिएनौं । यो संसारमा हामीहरु त्यस्ता अनावश्यक कुराहरु लिएर हिडीराखेका हुन्छौं ,तीनै कुरालाई सत्य मानिराखेका हुन्छौं र आफैलाई हीनभावनाले प्रताडित गर्दै ग्रन्थि आदिबाट पिडित भइराखेका हुन्छौं । बास्तवमा हेर्ने हो भने ती कुराहरुमा सत्यताको पूर्ण अभाव रहेको हुन्छ । जस्तै — हाम्रो समाज , परिवारमा सामान्यतः मान्छेहरुबाट यस्ता वाक्यहरु बोल्दै सुन्दै आइराखेका हुन्छौं —तेरो बुद्धि छैन , त्यसले केही गर्न सक्दैन, त्यो फटाहा हो , त्यो मूर्ख हो ईत्यादि ।  यस्ता वाक्यहरु जब समाजमा सुस्त—सुस्त फैलिदै जान्छ हाम्रो मन पनि इनै कुरालाई सत्य मान्ने अभ्यास गर्न थाल्दछ र यस्तो अवस्थामा हीनभाव जगाउने मनोग्रन्थि हाम्रो ब्यक्तित्वमा समाविष्ट हुन्छ जसले गर्दा जीवनको विकासमा अवरोध पैदा हुन्छ , जर्मनी का दार्शनिक आँर्थर शोवेन्योरले भनेका छन् —झूठ सत्यको रुपमा स्वीकृत गर्नुभन्दा पहिले तीन चरणबाट पार हुन्छ । पहिलो स्तरमा मूर्खतापूर्ण विचार हुन्छ ,दोस्रोमा त्यसको विरोध र तेस्रोमा त्यसलाई नै स्वतः प्रामाणिक सत्य मान्दछ । यस प्रकारका तीन प्रक्रियाहरुबाट हाम्रो मन पनि गुज्रीराखेको हुन्छ त्यसैले गर्दा ढिलो चाँडो हामी त्यसैलाई सत्य मान्न थाल्दछौं । जुन कुरा हाम्रो आस—पासका मान्छेहरु भन्नेगर्दछन् । अर्कोकुरा समाज, ब्यक्तिहरुले हामीलाई जे भन्दछन बुझ्दछन् वास्तवमा हामी त्यस्तो कदापि हुँदैनौं , तर हामी आफुले आफैलाई जाँच्दा पनि अरुको नजरले जाँची राखेका हुन्छौं र बुझिराखेको हुन्छौ ।  जीवन स्वयंलाई जान्ने,र खोज्ने एउटा सुनौलो यात्रा हो । जब हामी स्वयंलाई बुझ्न थाल्दछौं , आफ्ना साना—साना विशेषताहरु,नराम्रा गुणहरु, कमजोर पक्ष र राम्रा कुराहरुलाई बुझ्न थान्दछौं त्यसबेला अवश्य हामी हाम्रो व्यक्तित्वलाई बिना सर्त अपनाउन थान्दछौं । सहजै स्वीकार्दछौं र त्यसलाई सप्रेम अंगिकार गर्दर्छौं । जबसम्म आफैलाई निकृष्ट मानिरहन्छौं तबसम्म हामी सामजिक रुपमा सहज हुनै सक्दैनौं । आफैलाइ कमजोर मान्नु कुनै पनि समस्याको समाधान होईन । यदि हामीलाई समाधान चाहिएको हो भने समास्यको मूल जरो खोज्न जरुरी छ , अधिकांस समास्याहरुको मूलकारण विनाकारण नै हुने गर्दछन् , जुन बहसबाजीको समयमा त धेरै ठोस होकि भन्ने बुझिन्छ तर मन शान्त भएको अवस्थामा ती सबै समस्याहरुको कुनै औचित्य हुदैनन् । त्यसैले आफैसंग असन्तुष्ट रहनु एक किसिमले आफैबाट टाढा रहनु हो,जबकि हामी सबैभन्दा टाढा जान सक्छौं , सबैभन्दा अलग रहन सक्दछौं , तर आफैसंग भाग्न सक्दैनौ । हाम्रो बाटोमा कसैले साथ दियोस या नदियोस् यदि स्वयंलाई स्वयंले नै साथ दिने बातावरण आफैले बनाउने हो भने आफुले आफैलाई जान्न , बुझ्न,साथ दिन ,आफुलाई नै राम्रो मित्र मान्न थाल्यौं र स्वयंसंग प्रेम गर्न सिक्यौं भने अवस्य यो पथ पुरा हुनेछ । यसको अर्थ यो हुन भएन कि अरुलाई भूलौं । बास्तवमा यसको अर्थ आफुलाई बुझ्नु अरुलाई समाजलाई राम्रो संग बुझ्नुं हो । मान्छेहरुको जीवनमा ठूला—ठूला परिवर्तन तवमात्र सम्भव हुन्छन् ,जब उनीहरुले आफैलाई जानेका बुझेके हुन्छन् । स्वयंको महत्वलाई बुझेका हुन्छन् । स्वयंको सहि सदुपयोग गर्न सिक्दछन् ,स्वयंलाई हरेक दिन श्रेष्ठ देखि श्रेयस्कर बनाउदछन् । यस्ता मान्छेहरु नै समाजका नमुना हुन्छन, स्वस्थ, दीर्धायू  हुन्छन् । उनीहरु इच्छामात्र गर्छन् र जे चाहन्छन् त्यहि गर्ने क्षमता राख्दछन् । उनीहरुको सम्बन्धमा पनि सकारात्मकता देखिन्छ । समाजको अधिकांस त्यस्ता व्यक्तिको पछि विनाकारण नै लाग्दछन् । उनीहरुको शब्द सुन्न, अनुयायी बन्न, उनीहरुले दिएको सिद्धान्त मान्न , विनासर्त आफ्नो जीवनको आहूति दिन लालायित हुन्टन् । यी सबै कुराहरु त्यतिखेर मात्र सम्भव हुन्छ—जतिखेर स्वयंलाई बुझ्ने जान्ने र प्रेम गर्ने बानिको विकास पूर्णरुपले अगिबढी राखेको हुन्छ ।  सत्य यहि हो कि जति गहिराईका साथ हामीले स्वयंलाई बुझ्न सकेका हुन्छौं , त्यतिनै गहिराईका साथ हामी संसारलाई पनि बुझ्न सक्दछौं । यदि हामी स्वयंकै बारेमा अनभिज्ञ छौं या केवल सतही रुपमा जानेका छौं भने , संसारको बारेमा भलै किताबी ज्ञान प्राप्त गरौं , त्यसको सत्यतालाई कदापि बुझ्न सक्दैनौं । त्यसैले संसारलाई गहिराईका साथ बुझ्नु छ भने स्वयंलाई गहिराईका साथ बुझ्न आवश्यक छ । स्वयंमा समाहित भई मात्र संसारको नस्वरतालाई बुझ्न सक्दछौं ।  यहि तथ्यलाई ध्यानमा राख्दै योगसूत्रकार महर्षि पतञ्जलि भन्दछन् —तदा द्रष्टुः स्वरुपेवऽस्थानम् । ( पा.यो.सू. १÷३ ) अर्थात् योगलाई प्राप्त गरेको व्यक्ति आफ्नो वास्तविक स्वरुपमा स्थित भएको हुन्छ । जो आफ्नो स्वरुपमा स्थित भएको हुन्छ , त्यसको परमात्मासंग मिलन भएको हुन्छ , जोकि वास्तविक योगको रुप हो । भन्नुको मतलब संसारका सम्पूर्ण ज्ञानहरुमा श्रेष्ठ ज्ञान आत्मज्ञान हो र स्वयंलाई जान्ने बुझ्नेहरु योगसाधक जस्तै ब्रह्माण्डका सबै विभूतिहरुको अधिकारी बन्दछन् । उनीहरुको लागि कुनै पनि कुरा अपूर्ण हुदैन । ब्रह्माण्डको वास्तविक ज्ञान स्वयंलाई जान्नु नै हो , स्वयंलाई भुल्नाले नै हामी सांसारिक भिडको हिस्सा बन्दछौं , स्वयंलाई उपेक्षित गर्दछौं र विभिन्न प्रकारका सपनाहरु पूरा गर्न अनेक तिकडममा ईष्र्या ,द्वेष संगालेर सारा जीवन ब्यर्थ फाल्दछौं । संसारलाई देखाउनका लागि हामी जीवनमा अनेक चीज पाउन सक्छौं तर स्वयंलाई नपाइ , संसारिक चीजको विविधताले मात्र रिक्तताको महसुस दिन्छ । त्यसकारण हामीहरु संसारका अनेक प्रयासहरुभन्दा बढी प्रयास स्वयंलाई बुझ्न लगाउनु पर्दछ ।  प्रकृति र पुरुषको सुन्दर फूल मनुष्य जीव अनेक प्राणिहरु भन्दा पृथक छ , मनुष्यमात्रका लागि खुल्ला रहेको छ स्वयंलाई जान्ने प्रक्रिया । यदि जीवनको वास्तविक रहस्य बुझ्ने प्रयासमा आफुलाई ढाल्न सके जीवन आनन्दमय बन्दै । मानवबाट महामानव बन्न सकिन्छ । अनन्दको सम्भावना मनुष्य योनिमा लुकेर बसेको छ । त्यसैले तुलसीदास भन्दछन् — बडो भाग्य मानुष तन पावा । सुरदुर्लभ ग्रन्थ न गावा ।।—रामचरितमानस  भनिन्छ मनुष्य योनिबाटै भगवानले संसारलाई कष्टबाट बाहिर ल्याएका थिए । राम,कृष्ण,गौतम बुद्ध आदि महापुरुष तीनै प्रकृयाका बास्तबिक उदाहरणहरु हुन् । मोक्षगामी योनी को श्रेष्ठ साधना पद्धति आत्मज्ञान भएकाले यो बिना जीवनचक्रबाट माथी उठ्न असम्भव रहेको छ । अयं आत्मा ब्रह्म ।।, तत्वमसि ।। आदि वाक्य को वास्तविक अर्थ बुझ्न र अनुभव गर्न स्वयंलाई जान्नु पर्दछ तवमात्र जीवनको सार्थकता पूर्ण हुन्छ । 

                                                                                                                                                   -बालकाचार्य

भवतु सर्व मङ्गलम् ।।


0 comments:

Post a Comment