Wednesday, November 18, 2015

योगको बुझाई र सत्यता



सामान्य स्तरबाट सोंच्दा लाग्छ योग भनेको आसन प्राणायाम मात्र हो | तर यो मात्र सत्यता होइन | योग एक जीवन जिउने कला हो | वर्तमान समयमा टिभीहरुमा आउने असन प्राणायामका कार्यक्रम हरुले हामीभित्र ठुलै भ्रम परेको छ | हामी सत्यता पत्ता लगाउन तिर नलागेर कसैले फलाकेका कुरालाई सत्य मानिरहेका छौँ | यदी आफु योगमार्गी बन्ने हो र जीवनलाई आनन्दित बनाउने हो भने यसको गहिराइमा पुग्न आवस्यक हुन्छ |
यात्रा सुरु गर्न भन्दा पहिले योगको जरो कहाँ छ भन्ने कुरा स्पस्ट हुनु पर्दछ अनि मात्र हामीलाई मार्ग गामी बन्न सहज हुन्छ | योगको मूल सृष्टिकाल
देखिनै रहेको स्पष्ट हुन्छ किनकि महाभारत र याज्ञवल्क्य स्मृतिमा भनिएको छ "हिरण्यगर्भो योगस्य वक्ता नान्य पुरातन:|" अर्थात हिरण्यगर्भ नै योगका प्रथम वक्ता हुन् | यो भन्दा पुरातन अरु कोहि पनि हुन सक्दैन |  यी दुइ प्रमाण बाट पनि स्पस्ट हुन्छ कि योग आदिकाल देखिको धरोहर हो | हिरण्यगर्भ भनेका को हुन् त आर्ष ग्रन्थहरुमा धेरै हिरण्यगर्भ हरुको ब्याख्या पाइन्छ ती मध्ये योगका वक्ता भनिएका हिरण्यगर्भ सृष्टिकर्ता ब्रह्मा नै हुन किनकि अन्य हिरण्यगर्भ हरुले योगको बारेमा बोलेको कतै भेटिदैन | योगका  विभिन्न मार्ग हरु देख्न सकिन्छ जस्तै ज्ञानयोग,कर्मयोग,भक्तियोग. यसको अलावा पनि योग को रुपमा हठयोग , राजयोग . मन्त्रयोग आदि देख्न सकिन्छ | वर्तमान समयमा बिशेस प्रचलित योग भनेको हठयोग हो जसमा आसन,प्राणायाम,वन्ध, षटकर्म हुने गर्दछ | राजयोगमा ध्यान एवं प्राणायाम हुने गर्दछ |
सामान्य रुपमा योगको अर्थ जोड्नु हुन्छ | पाणिनी अष्टध्यायी का अनुसार योग सब्दको उत्पत्ति तीन धातुहरु बाट हुन्छ | "युजिर योगे , युग सम्यमने,एवं युज समाधौ" | पहिलो उत्पति युजिर योगे लाइ विभिन्न अर्थमा ब्याख्या गरेको पाइन्छ जोड्नु  मिलाउनु आदि | दोस्रोका अनुसार वशमा गर्नु भन्ने हुन्छ | यिनै आधारहरु बाट जीवात्मा र परमात्माको मिलन योग हो भन्ने कुरा स्पष्ट भएको हो | यहि संयोगलाई "समाधि" को संज्ञा दिने गर्दछन | जो कि जीवात्मा र परमात्मा ,को समतावास्था को आनन्द जनित सुख हुने गर्दछ | महर्षि पतंजली ले योगलाइ समाधिको अर्थमा प्रयुक्त गरेका छन् "तदा द्रष्ट स्वरुपेवस्थानम" यो.सू. अर्थात् द्रष्टा आफ्नो स्वरुपमा स्थित हुनु नै समाधि हो योग को उच्चतम अवस्था हो | र महर्षि बेद ब्यास भन्छन योगको वास्तविक अर्थ नै समाधि हो "योग: समाधि "यो.सु.ब्यास भास्य |
सृष्टि क्रम देखि अहिले सम्म आउदा योगले विभिन्न आयामहरुलाई पार गर्दै आएको छ | यस कालखण्ड मा विभिन्न तत्व द्रष्टा ऋषि र विद्वान जनहरुले योगलाई आफ्नो जीवनको अभिन्न्न अंग बनाए र आफ्नै अनुभवको कसिले बाँध्ने प्रयास गरे र योगका बारेमा आफ्ना अनुभब अनुसार परीभाषा दिदै गए |
"योगश्चित्तवृतिनिरोध:||" पा.यो.सू.१\२ अर्थात् चित्तका वृत्तिहरुलाई निरोध गर्नुनै योग हो | मन बुद्धि र अहंकारलाइ संयम गर्नु नै योगको उच्चतम अवस्थामा पुग्नु हो यी तीन कुराले बनेको चित्त क वृतिहरुलाई निरोध गर्नु रोक्नु नै योग हो | भगवान श्री कृष्ण श्रीमद्भागवत गीतामा भन्नुहुन्छ योग:कर्मसु कौशलम ||२\५० अर्थात् समत्व रुप योग नै कर्ममा कुशलता हो र कर्म बन्धन बाट छुटकारा दिलाउने उपाए हो | जीवनको वास्तविक परिणाम नै योग हो – वेद , शिव र शक्तिको मिलन नै योग हो |- शिव संहिता , योगको अर्थ भनेको नै मनुष्य र इश्वरलाइ जोड्ने एक पद्धती हो |-विवेकानन्द , आफ्नो स्वरुपलाई जान्नु अर्थात् आफु स्वयम् आफै संग जोडिनु नै योग हो |- महर्षि अरविन्द |  
योग सम्पूर्ण जीवन कालको सार्थक परिणाम हो जसले आनन्द शान्ति संगै अन्त्यमा मुक्ति सम्म पुर्याउने काम गर्दछ | आजको भागदौड , तनाब र पैसवादी युगमा योग ध्यान प्राणायाम को अति महत्वपुर्ण स्थान छ | योग जीवनलाई सार्थक बनाउने साधनहरु मध्य उत्तम साधन हो | अत: योग त्यस्तो महाशक्तिहरुको महासागर हो जसमा शारिरीक, बौद्धिक,आध्यात्मिक आदि सबै प्रकारका शक्तिहरुको विकास हुने गर्दछ र सुख शान्ति स्वास्थ्य को अन्वेषणमा सफलता दिलाउने काम गर्दछ | यसै कारणले गर्दा प्राचिन काल देखि अहिले सम्म विश्वशान्ति एवं स्वास्थ्य को खोजीमा योगको आश्रय लियिरहेको देखिएको छ | त्यसकारण यस युगलाई योग युग भन्दापनि अतिशयोक्ति हुदैन |
योग एक सनातन बिज्ञान हो शास्वत साधना पद्धती हो | ब्रह्म द्वारा निर्दिष्ट ऋषि तपस्वी तथा योगीहरू द्वारा बनेको श्रेष्ठ विधा हो | यो विशेष ज्ञान जीवनका महत्वपुर्ण तथ्यहरुलाई दर्शाउने तथा विभिन्न भौतिक एवं आध्यात्मिक, सामाजिक, भावनात्मक स्तर मा सहि स्वरूप प्राप्त गर्न सकिन्छ | यो एक कामधेनु कल्पवृक्ष हो जस द्वारा मनुष्य सम्पूर्ण चीज प्राप्त गर्न सक्दछ | योग परमात्मालाइ प्राप्त गर्ने विषिस्टतम एक साधना हो | गीतमा भगवान कृष्ण भन्नुहुन्छ | -
यो युक्तो विशुधात्मा विजितात्मा जितेंद्रिय: |
सर्वभूतात्म भुतात्मा कुर्वन्नपि न लिप्यते || ७\५
अर्थ:- जसको मन बसमा छ जो जितेंद्रिय एवं विसुद्ध अन्तकरण वाला छ र सम्पूर्ण प्राणी हरुमा अत्मस्वरूप परमात्मा नै जसको आत्मा हो त्यस्तो कर्मयोगी कर्म गर्दा गर्दै पनि कर्ममा आशक्ति राख्दैन |
योगले जीवनलाई राम्रो संग बुझ्न र बाँच्नका लागि चाहिने कलामा पारंगत गराउँछ | मानव जीवन विकाशका सम्पूर्ण आयामहरु र पक्षहरुलाइ क्रियात्मक योगको साधनले महत्वपुर्ण प्रभाव पर्दछ | योगको लाभ संगै यसको महत्व पनि आहिलेको आधुनिक समयमा तिब्र रुपमा अगी बढिरहेको छ | त्यसमाथि पनि २१ जुनलाई विश्व योग दिवस मनाउने घोषणा संगै योग पुर्बीय परम्परा मात्र नभएर एक वैश्विक परम्पराको रुपमा अघि देखिएको छ |
पहिले पहिले योग कुना कन्दरा पहाडमा पाइने गर्दथ्यो | गुरुले आफ्नो एक निश्चित चेलालाई मात्र योग विद्या सिकाउने प्रचलन थियो तर आजभोली योग शहर र गाउँ गाउँमा पुगिसकेको छ | विद्यालाय महाविद्यालय र विश्वविद्यालय
स्तरमा अध्ययन अध्यापन हुन थालिसकेको छ | भारतमा मात्र योग विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारीधि गराउने ४,५ वटा विस्वविद्यालय छन् जसले आजको ब्यबहारिक योगलाइ योग विज्ञानको रुपमा मान्यता दिएर छुट्टै पाठ्यक्रम बनाइ अध्ययन अध्यापन गराई राखेका छन् |
योग व्यक्तिगत हितमा मात्र होइन बल्कि सामाजिक हितमा पनि उपयोगी हुन्छ | व्यक्ति व्यक्ति मिलेर मात्र समज बन्छ | अत: जस्ता व्यक्तिहरु हुन्छन त्यस्तै समाज पनि हुन्छ | योग युक्त जीवन व्यतित गर्ने मनुस्यले राम्रो समाजको रचना गर्न सक्छ | सभ्यता शालीनता आचार विचार रहन सहन खान पान कस्तो हुने भन्ने कुरा योग का नियम हरुमा बर्णन मिल्दछ | योगका ग्रन्थहरुले हामीलाई त्यो नियम प्रदान गर्दछन जसले पूर्वीय संस्कृति उच्च स्थान मा छ भन्ने स्पष्ट हुन्छ |
"मन एव मनुष्यणा कारणम बन्ध मोक्षयो: ||"
अर्थात् यो सर्वमान्य सिद्धान्त हो कि मन नै बन्धन एवं मोक्ष को मूल करण हो | त्यसकारण यो आवस्यक छ कि मनलाई त्यस अनुरुप जान नदिउँ जसबाट भटकिने  अवस्था को शृजना नहोस | योग साधना द्वारा मनलाई निरन्तर इश्वर उन्मुख गराउने प्रयत्न गरौँ | योग द्वारा जीवात्मा को वास्तविक स्वरुप जो कि अन्यान्य जन्ममा गरेको संस्कारहरुले मलिन भएको छ त्यसलाई धोएर सफा र यथार्थ स्वरुपमा प्रतक्ष परिचय गराउनु हो | योग युक्त हुने बित्तिकै इन्द्रीयहरू सहि रुपमा बिकसित हुन थाल्दछन | तत्वदर्शी महर्षिहरुले परमात्मा प्राप्तिको सर्बोत्तम उपाए योग ध्यानलाई बताएका छन् |

योगी बालक
योग एवं स्वास्थ्य विभाग
देव संस्कृति विश्वविद्यलाय हरिद्वार


0 comments:

Post a Comment