बसन्त बस्नेत मैले चिनेको नाम होईन तर कुन्नी किन यो माधको मन्द मन्द धाममा रेडियोको छतमा बसेर अक्षर शैली स्तम्भ चहार्दा भेटाए बसन्तलाई सानै देखि साहित्यमा झुकाब छ ममा । म भन्न चाहन्छु । कहिले काही त जाँगर र लेख्ने आँट आयो भने कथा कबिता गजल पनि लेख्न तम्सिन्छु । माधको धाम कतिखेर मुसुक्क हाँस्छ त कतिखेर रिसाउछ म बस्नेतका शब्दमा गदगद हुन्छु क्या काब्य शैली छ यात्रा संस्करण जस्तो लेख भएपनि निकै आनन्द आईरहेको थियो मलाई ।
पुष माधको महिना लोडसेडिंग बढेर दिनमा १४ घण्टा भएको छ जेनेरेटर लगातार चलाउदा असर पर्छ भनेर मैले लाईन जाने बित्तिकै रेडियो स्टेशन बन्द गरिहाले यत्तिकैमा रेडियोका सहकर्मीले दुईओंठ खोलेर भने महोत्सब उद्धाटन गर्न राजेश हमाल आउने गरे है मैले पढ्दा पढ्दै भने त्यो त राम्रो कुरा होनि नेताहरुले वाक्क भएको यो देशमा कमसेकम एउटा नयाँ आयाम त भित्रिन खोज्दैछ यो राम्रो कुरा हो । मैले फेरी दोहोर्याएँ हुन पनि पहिलेका महोत्सब भन्दा अहिले केहि पृथक हुन्छ की भन्ने अपेक्षा धेरैले गरेका छन । नेपालका युबाहरु बिदेशीने क्रम बढि रहेको यो समयमा कपिलबस्तुका युबा महोत्सब जस्तो ठूलो कार्य गर्न तम्सीरहेका छन गछन् पनि नभन्दै सफल बनाई छाडे हुनत युबा जुटे के हुन्न र यहाँ ।
माथीका यी पंक्तिहरु सन् 2012 जनवरी तीरको हो जतिखेर म कपिलवस्तुको रेडियोमा काम गर्दा लेख्न सुरु गरेका साहित्यिक शब्दावलीहरु । आज फेरी कम्प्यूटर चहार्दा भेटियो सुरु मात्र गरेर छोडेका यी हरफहरु । जसले फेरी लेख्ने जाँगर प्रदान गर्दैछ । हुनपनि लेखन एक नशा हो जसले मान्छेलाई सन्तुष्टी दिने गर्दछ कतिपयहरु स्वान्त सुखाय लेखिरहेका हुन्छन् भने कतिपयहरु प्रकाशन र नामका लागि लेख्ने गर्ददछन् । मेरो लेख्ने शैली स्वान्त सुखाय नै हो त्यसैले होला यी माथीका पंक्तिहरु तीन वर्ष सम्म यत्तिकै खाली खालि रहेको । लेख्ने प्रत्रिकामा दिने छाप्ने भन्ने विचार भएकोा भए सायद यतिखेर सम्म धेरैले पढ्न पनि पाईसकेका हुन्थे । आज आएर यसलाई पुरा गर्न लाग्दा त्यतिखेरको प्रसंग र शैली आउदैन मलाई थाहा छ । त्यसैले यसलाई अन्तै मोड्नु आवश्यक छ ।
रेडियोका रमणीय समयहरुलाई माथीका थोरै भएपनि लेखिएका पंक्तिले झर्लक्क सम्झाउने काम गर्यो । रेडियोको छतमा बसेर कुरा गर्ने साथीहरु सरिता,मन्जु,सन्तोष यी तीन र म थियौं । जीन्दगीले हामी चारैै जनालाई रेडियोको दुनियाबाट टाढा बनाइसकेको छ । रेडियोको शुभारम्भ भएको २०६५ सालदेखिनै काम गर्ने अवसर सन्तोेष,सरिता र मैले पाएका थियौं भने मन्जु पछि आएकी थिइन । रेडियोको उत्पादन कक्ष संगै २ ,३ वटा कार्यक्रम मैले चलाउँथे भने । सन्तोष दैनिक पप आधुनिक कार्यक्रम चलाउथे र बजार प्रमुख भएर रेडियोको जिम्मेवारी निभाई राखेका थिए । सरिता कार्यक्रम संचालन र समाचार शाखामा काम गर्थिन । रेडियोको जिन्दगी यदि जीउन जान्ने हो भने निकै रमाइलो पनि हुने गर्दछ बाँच्न जान्नु पर्छ । मलाई लाग्छ हामी चारै जनाले त्यस कालखण्डको रस राम्रै संग लिएका छौं ।
सानो सानो कदको हिस्सी परेको सन्तोष आजभोली कोरियामा छ । अस्ति भर्खर फेसबुकमा फोटो हेर्दैं थिए त्यहाँको बाताबरणले होला निकै गोरो भएको देखिदै थियो एक वर्षजति भयो पोहर नेपाल आउँदा भेट भएको थियो । आजभोली फेसबुक पनि नाम मात्र र सन्तोषका लागि मात्र खोल्नेकाम हुन्छ साथी २ ३ हजार भए पनि कुरा कमैसंग मात्र हुन्छ । सरिताको बिहे भैसक्यो उनी विदेशतीर छीन । मन्जु पनि बिहेबारी गरेर गृहस्थी जीवन बिताउदै छिन् । त्यतिबेला रेडियोको कार्यक्रम प्रमुख गुल्मीका संगम महत हुनुहुन्थ्यो । आजभोली उहाँ काठमान्डौमा काम गर्दैहुनुहुन्छ । जीवनले सबैलाई चार दिशामा लखेर राखेको छ ।
यी सबै शब्दहरु लेख्दा म भारतको हरिद्धारमा रहेको देव संस्कृति विश्वविद्यालयमा योग विषयमा स्नातकोत्तर गर्दैछु । मैले सञ्चार क्षेत्रलाई छोडेर योग ध्यानको बाटो अपनाएको छु । हुन पनि मेरो जीवन कक्षा आठ पढ्दाखेरी देखि नै आध्यात्मिक क्षेत्रमा डुलिरहेको छ । चाहे त्यो गुरुकुलमा पाढ्दाका दिन हुन वा रेडियोमा आध्यात्मिक कार्यक्रम चलाउदाका दिन हुन् । नेपाल आएको बेला सन्तोष भन्दै थिए तिमी त गुरु बनेछौ मैले उतिखेरै भनेको थिए तिमिहरु बिदेश भएकाले आश्रमको लागि सहयोग गर्नुपर्छ । सहमति जनाउदै सकेको सहयोग गर्ने आस्वासन दिएका थिए । निकै हसिलो मान्छे सबै संग सुमधुर सम्बन्ध राख्ने मान्छे । लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा नाम बनाइ सकेका थिए । अरु मिडियाबाट अबसर आउँदा पनि मिडियामा जीवन छैन भन्ने गरेर टार्ने गर्दथे । र गएनन पनि । मेरो परिचय रेडियो खुल्नु भन्दा पहिले कार्यक्रम प्रस्तोताको प्रशिक्षण हुँदा भेट भएको थियो १३५ जनामा हामी पच्चीस जनाले रेडियोमा कार्यक्रम प्रस्तोता र समाचार बाचकको रुपमा छनौटमा परेका थियौं ।
रेडियोको समाचार शाखा निकै रमाइलो हुने ठाउँ हो । हाम्रो डिउटी दिउँसोमा भएर होला । खाली भयो कि समाचार शाखामा छिरि हाल्थ्यौं र बार्तालाप सुरु गथ्र्यौं । एउटा साधुरो ठाउँ एक कम्प्यूटर एक प्रिन्टर समाचार प्रिन्ट गरेर पढ्ने चलन थियो । सरिता कम्प्यूटरमा फेसबुक चलाउदैं छिन् । मान्छे आएको चाल पाएर होला उनी हत्तपत्त अनलाइनखबर खोल्छिन् । ओ हो कस्तो डराएको मत सर आउनु भयो कि भनेर । माथि पट्टी भित्तामा लेखिएको छ यदि फेसबुक चलाइएको पाइएमा कार्यबाही हुनेछ । फेसबुक चलाउन मनाही छ । अहिले भन्दा त्यतिखेर फेसबुकको चहलपहल सायद बढी थियो जस्तो मलाई लाग्छ । पख मैले मन्दिन्छु सर संग सन्तोष भन्दै थियो मन्जु आफ्नै मोबाइलमा मस्त थिइन । अनि आफु नि मोबाइल चौबिसै घण्टा चलाउन हुने मत यहाँ हुदा मात्र हो घर गएसी चलाउदीन क्यारे सरिताले उत्तर दिइन । बिहान खाना खाइवरी ११ बजेसम्म रेडियो पुग्नुपर्ने हुन्थ्यो र साँझपख ५ बजे मात्र छुट्टी मिल्थ्यो सुरु सुरुमा साइकल लिएर रेडियो जाने गर्दथ्यौं सन्तोष टाढाबाट आउँथे उसको मोटरसाइकल थियो तर कहिले काँही उ पनि साइकल लिएर आउँथ्यो । सरिताको पनि साइकल नै थियो सबै जसो साइकल लिएरै आउँने गर्दथे ।
म रेकर्डिङ स्टूडियोमा बस्थें मेरो काम ब्यापारिक सन्देश सम्पादन तथा मिक्सिङ गर्ने थियो । कहिले काँही ब्यापारिक सन्देश धेरै नै रेकड गर्नुपर्ने हुन्थ्यो तसर्थ स्टूडियोमा भिड नै लाग्ने गर्थ्र्यो । प्रचारमा बढी जसो बोल्ने सन्तोष,सरिता पवित्रा अशोक थिए । म कहिले काँही आवश्यक भए मात्र बोल्ने गर्थें । होइन भने मेरो काम कुन आवाजमा कुन संगीत हालेर सम्पादन गरे राम्रो हुन्छ भन्ने ध्याउन्न नै हुन्थ्यो । ब्यापारिक सन्देश नभएको दिन कार्यक्रम रेकड हुन्थ्यो । दिउँसोको १,२ बज्दा नबज्दै हामीहरुको ४ नं जाने बेला हुन्थ्यो त्यो बेला यस्तो लत परेको थियो कि नास्ता नगरि हुदैनथ्यो । जीतपुरमा काभ्रेपलान्चोक तीरबाट आएको एलीसा नामक एउटा ब्यापारीले होटल खोलेको थियो । त्यसकोमा खाना नास्ता सुलभ मुल्यमा पाइने गर्दथ्यो हामी पनि चाउमिन बर्गर र परौंठा खानका लागि त्यस ठाउँमा जाने गर्दथ्यौं । एक डेढ वर्षमात्र त्यहाँ बसेर उ फेरी पर्केर आफ्नै गाउँमा गयो सायद ।
नेपालमा धेरै रेडियोहरु छन् त्यसमा पनि हाम्रो रेडियो बिबिसी को सर्बेक्षणमा उत्कृष्ट १० सामुदायिक रेडियोहरुमा आफ्नो स्थान पार्न सफल भएको थियो । विज्ञापन भारतको सिद्धार्थनगर जिल्लाका समेत बज्ने गर्दर्थे । आम्दानि राम्रै थियो । अरु एफ एम स्टूडियोहरुले मासिक तलब दिएन भन्ने खबर सुन्दा हामीहरुलाई गर्ब लाग्थ्यो किनकि हामीहरुलाई महिना मर्ने बित्तिकै तलब मिल्ने गर्दथ्यो । थोरै भएपनि मासिक रुपमा मिल्ने हुँदा पैसाको बारेमा कहिल्यै निरासा हुन परेको थिएन कर्मचारीहरुमा । चाहिएको बेला अनुरोध गरे पछि काटिने गरी पैसा दिने प्रचलन पनि राम्रै थियो । रेडियोको स्थापनाकाल देखि कार्यक्रम,समाचार,प्राबिधिक, आदि शाखामा निरन्तर चार पाँच साल सम्म काम गरेको भएर हुन सक्छ । आफ्नोपनको आभास निरन्तर भइरहन्छ । आजको आधुनिक युगमा चलायमान रहेको कम्प्यूटर पनि मैले त्यहि रेडियोको छत मुनिबाट प्रेरणा पाएर सिकेको थिएँ । आफुले सिकेका कुरालाई ब्यबहारमा उतार्नका लागि त्यतिखेर एफ एमका कम्प्यूटर लुकि लुकि होस या सोधेर होस प्रयोग गरेको प्रतिफल सायद आजको यो विवेकले स्पष्टसंग छर्लङ्ग देख्न सकेको छ जस्तो मलाई लाग्दछ । देश दुनियाका खबर थाहा पाउने देखि लिएर देशै भरी छरीएका संचारकर्मी समाजसेबी नेता प्रोफेसरहरु संग मिठो सम्बन्धको कसी बाँध्ने काम पनि त्यही सञ्चारको क्षेत्रले दिएको एक उपहार हो । तर कतिले त्यसलाई सम्हालेर राखेका छन् त्यो उनीहरुकै कुरा हो ।
नेपालको हकमा एफ एम एका क्रान्तिको द्योतक पनि हो । भारतको फराकिलो लोकतान्त्तिक देशमा पनि एफ एम मिडियालाई समाचार भन्ने अनुमति नदिएको अवस्थामा नेपाली रेडियोले समाचार सम्प्रेषण गर्न पाउनु आफैमा एक क्रान्तिको मार्ग प्रसस्त गर्नु थियो । २०६२–६३ को आन्दोलन देखिनै रेडियोहरुले महत्वपूर्ण भूमिका निभाउँदै आइरहेका छन् ।
कपिलवस्तुको हकमा खुलेको हिसाबले दोस्रो भएपनि रेडियो बुद्धआवाजको स्थान स्थापनाकालदेखि हालसम्म पनि अग्रणिनै रहेको छ । नेपालका बिरलै रेडियोहरु छन जसले आफ्नै निजी भवन निर्माण गरी काम गरिरहेका छन् । त्यसमाथी पनि टेलिभिजन समेत प्रशारणमा ल्याउनु ब्यवस्थापन पक्ष र कर्मचारीको अथक प्रयासको नमुना हो भन्दा फरक पर्दैन ।
विदेशी भूमिमा बसेर यो लेख लेखि रहँदा सम्म हालकोे बुद्धआवाज रेडियोमा बिभिन्न ब्यक्तिहरु परिवर्तन भैसकेका छन । र मजस्तै अनेक अनेक ठाउँमा जीवन सार्थक बनाउने होडमा रेडियो छाडेका सबै साथीहरु दौडिरहेका छन् । थोरै शब्द भावना संगै लेख्ने प्रयास सम्झनाहरुले झकझकाएर भएको हो । तसर्थ जीवनको एक कुनामा सञ्चारको क्षेत्रलाई नियाल्दा आनन्दित अनुभव दिलाउने बुद्धआवाज रेडियो बुद्ध जस्तै निर्मल बनेर बसेको छ मनका अन्तरकुनाहरुमा । त्यस समयमा संगै काम गर्ने साथीहरु धेरै थिए सधै आत्मिए भाव देखाउने यादव भूषाल दाजु ,हरि अधिकारी, स्टेसन म्यानेजर भेषराज पाण्डे,उमाशंकर चौधरी ,सधै कमल दाइ भनेर आत्मीय भाव देखाउने पबित्रा शाही ,भाइ अशोक पौडेल ,चन्द्रकान्त न्यौपाने ,उदय पोख्रेल, मनोज थापा ,राजेन्द्र क्षेत्री ,यी सबै नामहरु नमेटिने गरी बसेका यादहरु हुन् । जय राधे ।।
अस्तु ।।..............................................................
योगी बालक
योग एवं स्वास्थ्य विभाग
देव संस्कृति विश्वविद्यालय हरिद्धार भारत
Wao ! Nice. Purano din ko yad feri taja vayo.thanks a lot
ReplyDeleteएकदम राम्रो लेख
ReplyDeleteटाइपिंग मा मिस्टेक भएछ कतै कतै