Sunday, January 24, 2016

रेडियो भाग एक

              जीवनमा जागिरको अनुभव मैले संचार क्षेत्रबाट सुरुवात गरेको हूँ । रेडियो बुद्धआवाज जहाँबाट मेरा आवाज आध्यात्मिक भावाभिब्यक्ति सहित विहान ४ः५५ बाट गुन्जीन सुरु गर्थे । आकाशीय तरंगमा मेरो शब्दलाई फिजाइदिन भद्दत गर्ने गर्थे बुद्धआवाजको स्थापना कालदेखि एकछत्र चम्कीरहेर उज्यालो दिइरहेका नक्षत्रहरु प्राबिधिक मनोज र राजेन्द्र । संचार क्षेत्रमा पर्दा पछाडी रहेर अनन्य भूमिका खेल्ने काम प्राविधिकहरुको हुन्छ । कति कार्यक्रम संचालक यिनै अनुहार अगाडी आए र अस्ताए । कतिले जीवनको उत्कर्षलाई बुझे । कतिले जोडी पाए र प्रेम ध्वनि गुन्जाए । कोही कर्मयोगी ज्ञानयोगी आादि चरित्र निभाउदै छन् । 

               विहान विहान उनीहरु सुतिरहँदा उठाउन म पुग्थे । रेडियो ४ः५० मा खोल्नुपर्ने काम उनीहरुकै हुन्थ्यो । त्यो बेलाको उत्साह र जोस अनौठो थियो । विहानै ३ बजे उठेर स्नान ध्यान गरी म रेडियो पुगेको हुन्थे । आफ्नो कार्यक्रम चलाउनका लागि । रातिको समयमा राजेन्द्रको स्टूडियो हेर्ने काम हुन्थ्यो । त्यसैले होला उनी अबेरसम्म सुत्ने गर्थे । मेरो आवाज सुनेर मनोज कोठा खोल्थे । कहिलेकाँही पहिलेनै उठीसकेका हुन्थे मनोज । किनकी बिहान मनोजको डिउटी हुने गर्थ्यो । कहिले काँही समाचार बाचक वा कार्यक्रम संचालक पनि रेडियो मै प्राबिधिकहरुसंग सुत्ने गर्दथे । र अक्कल झुक्कल म पनि सुतेको छु त्यो कोठामा । रेडियो बन्द हुने ११ बजे राति भए पनि गफगाफले समय लिन्थ्यो र सुत्नेकाम १२ , १ बजेतीर मात्र हुन्थ्यो । विहान पख निद्रा बेसरी लाग्ने भएर होला उठ्न ढिला भएको  । कारण मलाई थाहा थियो त्यसैले बोल्न उचित ठान्दिनथे । म सरासर लाइभ कोठा छिर्थें । मनोज कम्प्यूटर खोल्दै सोध्दै गर्थे कमल कुन भजन बजाउने ? म बोल्न का लागि सामग्री तयार पार्दै पारि रहेको हुन्थे । पूर्वीय साहित्यमा भएको पुनर्जन्म सम्बन्धि विषयमा पश्चिमी विद्धानहरुको मत र अनुसन्धानका केही लेखहरु ईत्यादि आध्यात्मिक राशिफल प्रबचन मेरा विषयबस्तु हुने गर्दथे बोल्नका लागि । 
                मनोज अर्घाखाँचिबाट आएका हुन । उनी आफ्नो दिदीको घरमा बस्छन् । शिक्षा स्नातक तहमा अंग्रेजी विषय पढ्दै छन् । कम्प्यूटरमा राम्रो दख्खल छ । रेडियो आउनुभन्दा पहिले पनि उनी चार नम्बरको मुनलाइट भन्ने संस्थामा कम्प्यूटर शिक्षण गर्ने गर्थे । त्यसैले उनलाई र बैरियाका १२ पढ्दै गरेरका राजेन्द्र क्षेत्रीलाई रेडियो संचालक समितीले रेडियो खुल्नु पूर्व  प्राबिधिक सिक्न रुपन्देहीको लुम्बिनी एफ एममा पठाएका थिए । मनोज थापा ठट्यौली पाराका एक निश्चल ब्यक्ति हुन । उनी साहित्यमा पनि आफुलाई उभ्याउछन । कथा कविता गजलमा उनको राम्रो लेख्छन् । उनले लेखेका कथाहरु श्रीनगर एफ एममा बजी सकेका थिए केही वर्ष पहिले उनको गीतिकथाले निकै चर्चा पाएको थियो । सदाबहार मुहारमा हाँसोलाई स्थापित गरेका मनोज आफ्नो मुस्कानले नै अनन्य हितैषी बनाइ सकेका थिए । काम संग काम को मतलब राख्ने । अनावश्यक कुरामा समय खेर नफाल्ने ब्यवहारिकता उनका बानीहरु हुन् । राजेन्द्र हेर्दा सुन्दर जिउडाल भएको लोभलाग्दो नवयुवक । सिधै सम्बन्ध नगास्ने । लौगाई क्याम्पसमा ब्यवस्थापन संकायमा १२ पढ्दै गरेका उनी कसैसंग झट्ट बोली नहाल्ने । आफ्नो कामलाई सकेसम्म विधिसम्मत पुरा गर्न हर सम्भब लागिरहने । प्रेम र माया मा विश्वास गर्ने कार्यक्रम सञ्चालकहरुको पर्दा पछाडीका राजेन्द्र दादा बैरिया बजार नजिकैको हुन् । 
       रेडियो ५०० वाटको भएर होला श्रोताहरु टाढा टाढाका थिए । फोन गर्दा डेडिकेसनमा पर्ने ब्यक्ति प्राविधिक पनि हो । कलरले आफ्ना हितैषीहरुको नाम लिइसकेपछि अन्त्यमा प्राविधिक दादालाई पनि यो गित सुनाउन चाहन्छु भन्ने गर्दथे । जबकी गीत खोज्ने र बजाउने काम उनै प्राबिधिकको हो । साधारण मान्छेको लागि रेडियो कर्मी विशेष लाग्ने गरेरहोला कहिले काहीँ खाली समयमा फोन गरेर कुरा गर्ने उत्कर्ष उनीहरुको हुन्थ्यो । एक दिन म आफ्नो घरमा बस्दै थिए पल्लो घरकी मायाले सोध्दै थिई कमल दाई त्यो राजेन्द्र क्षेत्री भन्ने प्राविधिक कस्तो छ ? उसको यो सोधाई अनौठो थियो अलिअलि लजाउँदै उसले यो सोध्ने आँट गरेकी रैछ मैले अनुमान लगाएँ र लगत्तै उत्तर दिएँ । कस्तो हुनुनी गोरो गोरो राम्रो छ किन देख्न मन लाग्यो र ? मेरो प्रति प्रश्नलाई टार्दै भन्न थाली बोल्ने मान्छे त आवाजले केही चिनिन्छ । होइन के त्यो दाई प्राबिधिकमा बसेका बेला राम्रा राम्रा मरो मन छुने गीत बजाउनु हुन्छ त्यसैले । ल ल न आत्ते मोबाईलमा फोटो खिचेर ल्याउला अनि धित मरुन्जेल हेर्लिस हुन्न । मेरो कुरा सुन्ने वित्तिकै उसले आफ्नो रुमालले मुख ढाक्दै त्यँहाबाट गाएब भई । मैले मनमनै सोंचे कार्यक्रम संचालक मात्रै श्रोताका प्यारा हुन्छन भनेको त यहाँ प्राविधिक पनि प्यारा मात्र नभएर दिलको एक कुना राजगर्ने हुदा रहेछन् । हुन पनि हो प्राविधिकले कुन समयमा श्रोता कुन अवस्थामा छन् र त्यस बेला कस्ता गीत बजाउन उचित हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । 
         कार्यक्रम संचालकको रुपमा छिरेको म पनि कुनै कालखण्डमा प्राविधिक समाचार बाचक सम्म बनेको थिए । अस्ती भर्खर छुट्टीमा घर जाँदा फेरी एकपटक रेडियोको दर्शन गरें । सबै सुनो सुनो लाग्यो उतीबेला काम गर्ने आज रहेनछन् । उतीबेला रेडियो बैरिया छदै कार्यक्रम प्रमुख संगम महतले काठमान्डौ नेपाल एफ एम नेटवर्कमा जाने निधो गरी छोडेदेखिन । क्रमश समाचार शाखाका हरी अधिकारी ,गीता अर्याल(अधिकारी) चन्द्रकान्त न्यौपाने ,उदय पोख्रेल , सन्तोष केसी , र पछिल्लो क्रममा निकै हँसिलो र निश्चल स्वभावका यादव भूषाल र मेरो राजिनामा एकै दिन रेडियोमा पुगेको थियो । यादव दाई सुर्खेत एकजिओ को काम पाएर गएका थिए म भने पूर्वाञ्चलको लाहानमा पुगेको थिए  । तत्पश्चात पछि आएको अशोक भाई सरिता ज्ञवाली पवित्रा शाही पनि आ आफ्नै कारणले रेडियोबाट विदा भएछन । पछि आएका नारायण पाण्डे संग कुराकानी भो पुराना त अब भेषराज सर उमा सर  अनि राजेन्द्र र मनोज मात्र हो अरु सबै नयाँ छन् । एक किसिमले नरमाइलो लाग्यो संधै आफ्नो घर जस्तो लाग्ने त्यो घर विरानो लाग्दै थियो । सबै नयाँ कर्मचारी काम गरीरहेका थिए । न्यास्रो मान्दै लाइभ स्टूडियो गएँ एक नया युवक फेडर उठाउदै थिए । भित्रबाट एक नवयौवना बोल्दै थिइन ................ हैल्लो  फ्रेन्डस गुड आफ्टर्ननुन कार्यक्रम म्यूजिक हंगामा मा म उपस्थित भइसकेकी छु तपाइको मनको साथी म ........  एकपटक कम्यूटर हेरें त्यही पुरानै थियो जसलाई हामीले उतीबेला चलाउने गर्थ्यौं । भाईलाई सोधे हजुर कहिले आउनुभएको ? मेरो प्रश्नको उत्तर दिदै उसले भनेको थियो दुई महिना जति भो । घर कहाँ नि ? प्यूठान उसले उत्तर दियो । त्यसपछि म स्टूडियो बाट निस्कें । समाचार कक्षमा कुनै नयाँ अनुहार की नानीले समाचार टाइप गर्दै थिइन सायद मैले अनुमान लगाएँ यिनी पनि नया नै हुनुपर्छ ।
म पुगेर विनोद भट्टराई संग बस्दै गर्दा राजेन्द्र टुपलुक्क आइपुगेका थिए । आजभोली अली मोटाएछन जिउ ठूलो भएछ । केही वर्ष अघिको नवयुवक आज ब्यवहारिक तरुण देखिएको थियो । मैले हालखबर सोध्दै मनोजको बारेमा सोंधे कता छन ? मनोज बुबा वितेको कारण अर्घाखाँची घर गएको कुरा अवगत भो । जीवनले सबैलाई लाखापाखा लगाएको छ तर सबैको मन एकतमासले फर्किन्छ त्यो ठाउँमा जुन ठाउँलाई सबैले एक घर जस्तै अनुभव गरेका थिए र जुटेका थिए बुद्धआवाजलाई एक नमूना रेडियो बनाउनका लागि । जुन समय निष्काम भाब सहित काम गरिन्थ्यो त्यतिखेरका दुःख दर्द पनि त्यसरी नै हराएर जाने गर्दथ्यो । त्यही पलको एकपटक झलझलती याद आयो । भाथिल्लो तल्लामा साँझ पख रेडियोमा बस्ने कर्मचारीको लागि विछ्यौना राखेको रहेछ त्यो देख्ने बित्तिकै उही पुराना दिनमा रेडियोमा सुतेका घटनाहरु एक पछि अर्को गर्दै मनस्पटलमा आइराखेको थियो । 
        जिंगल प्रोमो गीत कार्यक्रम मा नयाँ प्रस्तुती र शैली हनुपर्छ भन्ने सोंच हामीमा रहेको थियो । कहिलेकाँही हामीहरु जिंगल र प्रोमो को बारेमा छलफल नै गर्ने गर्थ्यौं एकदिन राति म पनि रेडियो मै बस्ने निधो गरेर गएको थिए त्यस दिन काशी (माग्नेबुढो) पनि म संगै थिए उनी मेरा नजिकका साथी हुन हामी बीच सबै कुरा आदान प्रदान हुन्थ्यो अझ भनौ राजेन्द्र मनोज काशी म बीचमा कुनै कुरा छिपेको हुदैनथ्यो थाहा त सन्तोषलाई पनि हुन्थ्यो तर उ दिउसोमा मात्र हामी संग हुन्थ्यो । भर्खर एफ एम मा एस एम एस सिस्टम बनेमो थियो त्यसको लागी कस्तो प्रोमो बनाउने भन्ने बारे हामी छलफल गर्दै थियौं । हामी रेडियो बन्द गरेर रेकर्डिङ स्टूडियोमा छिरेका थियौं । मनोज मिक्सरमा आवाज मिलाउदै थिए । रेडी स्टार्ट ........... के सुन्न चाहनुहुन्छ त......पाई काशीको आवाज सुन्ने वित्तिकै मनोज भित्रबाट कराउन थाले कट कट के बाख्रो जस्तो कराको अलि भाइबरेसन हालेर बोल माग्नेबुढो । मनोजको कुरा सुन्ने वित्तिकै हसाउने मुडमा उ बोल्न थाल्यो । चटपटे जस्तो रेडियोमा मी......ठो बर्फी जस्तो गीत सुन्नका लागी फोन गर्नुहोस । फोन होइन एस एम एस हो कट....... बिचमा राजेनद्र बोले । यत्तिकैमा मनोज भित्र छिरे र भन्न थाले तिमीहरु बोलीरहने ले भन्दा यी हाम्रो राजेन्द्र बोल्छन ल बोल त राजेन्द्र । मेरो त आवाज गतिलो छैन के दाई बोल्दिन । नकराउ अस्ति सम्पर्क गर्नुहोस भन्दै युनाइटेड अफसेट प्रिन्टिङ प्रेसको प्रचारमा बोल्या होइन ? बीच बीचमा काशी भएर होला हाँसोको माहोल बनेको थियो । यत्तिकैमा राजेन्द्र बोल्न थाले के सुन्न चाहनुहुन्छ तपाँइ ? राजेन्द्रको आवाज सुन्ने बित्तिकै काशी बेस्सरी हाँस्न थाल्यो अनौठो पाराले मनोज ट्वाल्ल उसलाई हरी राखेका थिए एकछिन पछि उनी पनि हाँस्न थाले । सबैमा हाँसोको माहोल छायो रुक्ने कुनै संकेत थिएन हाँसोले गर्दा बोल्न मिलीरहेको थिएन ।  पछि रेकर्ड गरिसके पछि सबै मिलेर सुन्दै थियौं सुन्दा झन हाँसो उठेर आयो । हाँसो जति सेभ गरेर राख है मनोज काम लाग्छ काशी भन्दै थियो । आखिर भयो पनि त्यस्तै हाँस्यब्यङ्ग्य कार्यक्रममा पृष्ठभूमिमा बजाउनका लागि । अस्ति पनि पोखराको तरंग एफ एमबाट साथीले हाँसो चाहियो भन्दा त्यही फाइल पठाएका थिए मनोज ले । त्यो हाँसो धेरै रेडियोमा पुगेको छ । अन्तत चार दिन लगाएर प्रोमो मिक्सिङ भएको थियो अरु कसैलाई थाहा थिएन । आवाज काशी को र राजेन्द्रको थियो प्रोमो मा । त्यस बेला दर्शन नमस्ते बोलको गीत निकै चलेको थियो प्रोमोमा त्यसले पनि स्थान पाएछ । बिहान बिहान कार्यक्रम चलाएर निस्कदा मनोजले सुनाएका थिए कस्तो भाको छ भन त भन्दै । निकै राम्रो बन्यो बन्नत बजाउने कैलेबाट हो ? मैले सोधे । अझै बजाएको छैन सोध्नुपर्ला मनोज भन्दै थिए । प्रोमो ११ बजे देखि १२ बजे सम्मका लागि बनेको थियो । ११ देखि १२ बजेको समय त्यतिखेर रोजाइका गीतहरुको थियो प्रोमो बज्यो सबैले रुचाए । आज पनि त्यो प्रोमो बजी रहन्छ  । किनकी त्यो राम्रो बनेको रहेछ आजभोली हामी आफैले सुन्दा पनि रमाइलो लागेर आउँछ त्यस दिनको मेहनत । 
        त्यो अवसरमा उत्साह उमंग र कामको आफ्नै लगन थियो । रेडियो सुरु सुरुमा खुलेको कारण प्रचारको अधिकता थियो । एक दिनमा ५ ७ वटा प्रचार मिक्सिङ गर्नुपर्ने हुन्थयो । कहिले काँही मनोज र राजेन्द्र आफ्नो रातिको डिउटीमा रेडियो बन्द गरी प्रचार मिक्सिङ गर्ने गर्थे । उनीहरु कम्प्यूटर चलाउन महिर थिए म भरखर कम्प्यूटर सिक्नका लागि चार नं जान थालेको थिए तैपनि म उनीहरुले काम गरेको अति उत्साहले हेर्ने गर्थे । जीवनमा राम्रो लगन र जिज्ञासा भए  जस्तोसुकै काम पनि सिक्न सकिन्छ भन्ने उदाहरण मैले यहिबाट सिक्ने मौका पाएको हूँ । चन्द्रकान्त न्यौपाने संगै कम्प्यूटर सिक्न जान्थे म हामी दुईको परिचय सिद्धार्थ क्याम्पसमा भएको थियो । त्यो भन्दा पहिले मैले उहाँको नाम सुनेको थिए तर परिचय भएको थिएन । राजेन्द्र जब जब प्रचारका लागि ध्वनी संगीत छनोट गर्थे त्यतिखेर म पनि कहिले काँही सल्लाह दिने गर्थे । यो राम्रो यो नराम्रो इत्यादि भन्दै । 
           दिनहरुमा मेरो लगाब अलि बढीनै रेडियोमा भैसकेको थियो । म विहानको कार्यक्रमको लागि साँझ भोजन गरेर नै जान थालेको थिए । कारण जाडो याम भएर पनि थियो । राजेन्द्र र मनोज मेरा नजिकका मित्र भैसकेका थिए । रेडियोमा प्राविधिक बनेर कम्प्यूटरमा गीत बजाउन कति रमाइलो हुन्छ होला यो कुराले मेरो मनमा अनायास काउकुति लगाएर जान्थ्यो । म कम्प्यूटरमा केही जान्ने भएपछि मनोजले कार्यक्रमका लागि भजन गीत छनौट गर्ने जिम्मा मैलाई सुम्पेका थिए । कम्प्यूटर सिक्न गएका उमाशंकर , चन्द्रकान्त र म मध्ये टाइपिङमा म नै अब्बल देखिएको थिए । मलाई विश्वास नै थिएन म पनि एक दिन कम्प्यूटरको जानकार मान्छे बन्नेछु । मैले कम्प्यूटरको कक्षा लिन थालेपछि अलि बढी नै एफ एम मा समय दिन थालेको थिए । साँझ पख जानु र मनोज राजेन्द्रको सल्लाह अनुसार कम्प्यूटर सिक्नु मेरो लागि दैनिकि जस्तै थियो । 
रेडियो नियमित संचालन हुन थालेको केही महिना बितिसकेको थियो राजेन्द्र र मनोज बाहेक रेडियोमा अर्को प्राबिधिकको आगमन भएको थियो मनु क्षेत्री उनी झुंगाका थिए अग्लो अनि कालो कालो मुखाकृति भएका उनी पनि मिलनसार थिए सुरुसुरुका दिनमा म विहान र साँझ जाने भएकाले उनीसंग राम्रो घनिष्टता थिएन उनले  दिउसोमा डिउटी गर्थे । अब रेडियोमा प्राबिधिकलाई लाइब हेर्दा नै समय सकिन थालेको थियो । प्रचार र कार्यक्रम आदि सम्पादन निर्माणमा अब अर्को प्राबिधिकको आवश्यकता पर्दै गएको थियो । किनकी प्राबिधिक अलाबा त्यस विषयमा अब्बल एक कार्यक्रम संचालक संगम महत मात्र थिए । उनी आफ्नै काममा ब्यस्त हुने कारण आजभोली प्रचारहरु धेरै बासी रहन थालेका थिए । राजेन्द्र मनोजले कहिलेकाँही सम्पादन गरेपनि उनीहरुलाई प्रशारण कक्ष हेर्दा ठिक्क हुन्थ्यो । म नियमित आउने जाने गरि रहेकै थिए रेडियोका धेरै कुराहरु सिक्नका लागि मलाई राजेन्द्र र मनोजबाट यथा सम्भव प्राप्त हुन्थ्यो । पछिल्लो समयमा समाचार पनि प्रशारण गर्न थालिसकेकाले कहिलेकाही यादव भूषाल दाइको बसाई पनि रेडियो मै हुन थालेको थियो । साँझ सुत्ने बेलामा रेडियोका काम र अनुभवका विषयमा छलफल हुने गर्थ्यो । गीत मात्र बज्ने समयमा कार्यक्रम प्रमुखले प्रस्तोता छनोट गरी भटाभट कार्यक्रमको जिम्मा लगाइ राखेका थिए । समाचारमा लगभग सबै छनौट भैसकेका थिए किनकी समाचार बज्न थालिसकेको थियो । त्यस बिचमै मैले पनि एक कार्यक्रम चलाउने निधो गरें । कार्यक्रम सफलताका कुरा................... चन्द्रकान्त न्यौपाने उनले प्रोमो बनाए कार्यक्रम सहित्य सिर्जना........ उनको यो कार्यक्रम रात्रिकालिन थियो त्यसमाथि पनि फोनिन बिबिसी नेपाली सेवा पछ १० बजे सम्म । आवाजमा ओजस्वीता, मधुरता र ब्यक्तित्वमा सिर्जनात्मकता भएका कारण उनको यो कार्यक्रमले रेडियोका सफल कार्यक्रमहरुमा आफ्नो नाम दर्ज गराएको थियो । 
           उत्पादन कक्षमा नयाँ ब्यक्तिको आगमन भएको थियो । भैरहवामा रेहेको रुपन्देही एफ एममा प्राविधिक सिकेका उदय पोख्रेलको । उनले प्राविधिक सिकेका मात्र थिए त्यसैले होला उनले लामो समय सम्म रेडियोको लागि अनन्य गुन लागाए स्वयं सेवक भइ काम गरेर । ६ महिनासम्म स्वयंसेवक भएर काम गरिसकेपछि मात्र उनले नियुत्ति पत्र पाएका थिए र पारिश्रमिक पनि । कार्यक्रम थपिदै थिए प्रचारको आउने क्रम उस्तै थियो उदयको काम दिन दिनानु दिन थपिदै थियो । उनी उत्पादन कक्षमा दिउँसो ४ बजेसम्म मात्र बस्ने गर्थे । र साँझ भोजन गरिसकेपछि आउने गर्थे काम गर्नका लागि । दिउसोमा कार्यक्रम प्रस्तोता र अन्य ब्यक्तिहरुको भिड त्यही उत्पादन कक्षमा हुने गरेकोले रहेछ उसले त्यसो गर्ने मलाई पछिमात्र थाहा भो । धेरै पटक सूचना टास्ने र ब्यवस्थापकलाई भनि पनि सकेको रहेछ तर समस्या उस्ताको उस्तै थियो । किनकी कार्यक्रम प्रस्तोताहरुको लागि निश्चित बस्ने ठाउँ ब्यवस्थित भैसकेको थिएन । प्राबिधिक भए ता पनि उनको आफ्नै रुचि थियो उनी लोक गीतका पारखी थिए लोक गीतको कार्यक्रम चलाउने जमर्को गर्दै थिए पछि चलाए पनि । रेडियो सञ्चालनको एक वर्ष पूरा भएको थियो । एक वर्षमा धेरै परिवर्तन भैसकेको थियो सबै साथीहरु परिवारका एक सदस्य भैसकेका थिए । मिती २०६७।२।२७ गते पहिलो बार्षिक उत्सब मनाउने निर्णय गर्यो । सबै कर्मचारी कार्यक्रम प्रस्तोत आदिलाई बिभिन्न जिम्मा लगाइएको थियो । सुरु सुरुमा भएर होला सबैमा उत्साह थियो । कार्यक्रम हुने दिन म ८ बजे कार्यक्रम स्थलमा पुगेको थिए । त्यतिखेर मनोज र राजेन्द्र प्रत्यक्ष प्रशारणका लागि तारहरु मिलाउदै थिए । आइरन तताउने र वाएर जोड्ने काममा मैले पनि सहयोग गरें र तारलाई कार्यक्रम स्थलदेखि प्रशारण कक्ष सम्म बिछाउने काम मैले नै गरें । मलाई कुन्नि किन यस्ता प्राबिधिक विषयमा अनौठो रुचि जागेको थियो । कार्यक्रमको तयारी स्टेज , माइक , सजावट आदि सबै सकिएको थियो दिउसो १२ बजे त्यतिखेरका संचारमन्त्रि आगमन संगै कार्यक्रम सुरुभो बिच बिचमा केही नृत्य भाषण आदि पछि एक वर्ष सम्म रेडियोमा उत्कृष्ट काम गर्ने ब्यक्तिहरुलाई सम्मान गर्ने घोषणा कार्यक्रम संचालक संगम महतले उद्घोष गरे । सुन्दै गरेका प्रस्तोता र प्राबिधिक कर्मचारीमा अनौठो खलबली मच्चियो । यो कुरा कसैलाई थाहा दिइएको रहेनछ । प्रशंशा पत्र पाउनेमा सबैभन्दा पहिले नाम उच्चारण भयो समाचार बाचिका गीता अधिकारी.......... बजार प्रतिनिधि रिता घिमिरे.......... प्राबिधिक उदय प्रोख्रेल ...... 
                 समयचक्र आफ्नै गतिमा प्रबाहमान थियो । सबै आ आफ्नै काममा ब्यस्त हुन थालेका थिए । जीवनले नयाँ उत्कर्ष सुरुवात गरेको भान सबैले गर्न थालेका थिए । कताकति कामको चाप पनि बढ्दै थियो । राति राति सम्म प्रचार तथा कार्यक्रम सम्पादन गर्न थालिएको थियो । आफ्नै गाउ ठाउमा रेडियो खुलेकाले हेर्नका लागि नयाँ नयाँ अनुहारको आगमन हुन थालेको थियो । रेडियो घुम्दै प्रशारण कक्षमा पुगेर नमस्ते भन्दा कुर्चीमा बसेर गीत रोज्दै गरेका राजेन्द्र भुतुक्कै हुन्थ्थे । कुन्नि किनहो केटी मान्छे संग लजाउने बानी छ उनको । साँझ पख सुत्ने बेलामा यस्ता मान्छे रेडियो हेर्न आएका थिए भन्दै सुनाउने गर्थे उनी । राजेन्द्रको कुरा सुन्ने बित्तिकै मनोज भन्थे लभ पारे भैगो नो अब प्राबिधिक दाइ भै हालियो । हल्ला नगर दाई बरु मेरो याहू आइडी बनाइ देउ न ? च्याट गर्न पाइन्थो कि हाम्ले नी । यस भन्दा पहिले मनोजले याहू म्यासेन्जर चलाएर च्याट गरेको राजेन्द्रले देखेका रहेछन । मैले पनि साँझ पख रेडियोमा बस्न आउँदा चलाएको देखेको रहेछु पछि खोलेपछि थाहा भो किनकी त्यतिखेर मैले त्यती ख्याल गरेको रहेनछु याहू म्यासेन्जर भनेको के हो ? मनोज उठेर कम्प्यूटरमा बस्न गए । फोनको वाएर झिकेर कम्प्यूटरमा जोडे । डायल अप सुरु भएको केही क्षणमा नेट कनेक्ट भो । वेभसाइट खोल्दै थिए मनोज राजेन्द्र के नामको आइडी बनाउने भन्ने बारे सोच्दै थिए । राजेन्द्रको याहू आइडी बन्यो रायान्सू............ । मलाई चलाउन आउदैनथ्यो तैपनि दाई मेरो नि भने सहज स्वभावका उनले मेरो पनि बनाए नाइसकमल......... । हामी दुबै खुुसी थियौं । आइडी बनेको केही दिनपछि फेसबुक पनि बन्यो तर चलाउन जानिएन पासवर्ड लेखेर राखेका थियौं । नेट स्लो थियो फोनबाट जोड्नु पर्ने । निकै गारो थियो । कम्प्यूटर धेरै भए पनि नेट एउटामा मात्र चल्थ्यो । नेटको बारेमा भर्खर बुझदै थियौ हामीले । बिहान चार बजे उठ्न पर्ने हुनाले मनोज सुत्न गए । नेट जडान गर्दा फोन बिजि बताउथ्यो । राजेन्द्र आफ्ने आइडी खोलेर बसेका थिए । कहाँबाट जानेहो च्याट रुममा भन्नु त दाई ? मनोजलाई सोध्दै थिए । मनोज उहीँबाट सम्झाउदै गर्थे । ल ल बल्ल भयो । सुरु सुरुका दिनमा रातभरी पनि नेटमा बिजि हुने गरन्थ्यिो । अनेक साथी बनेका थिए जताततै सम्पर्क बढीरहेको थियो । सञ्चार क्षेत्रको फाइदा यही हुदो रहेछ साथी धेरै बन्दा रहेछन । 
रातिमा नेटले गर्दा फोन बिजि हुन थालेको थियो । कहिलेकाही मेनेजर सरले रातिमा फेन डायल गरेर चेक गर्न थाल्नुभएको रहेछ कताबाट थाहा भो । त्यसपछि नेट बस्न कम हुदै गयो । सुरुसुरुको जस्तो उत्साह पनि कम । यत्तिमा उनले धेरै साथी बनाएका थिए । विदेशी स्वदेशी कोही केटा कोही केही । त्यसमा पनि केटी प्रति केटाको आकर्षण हुनु स्वभाविक हो । च्याट त्यसपछि फोटो आदान प्रदान तर कतिपय त केटा मान्छे नै केटी बन्दा रहेछन । कुरा गर्दै जाँदा पछि बल्ल थाहा भो  । पछि उच्चस्तरीय सुविधाको एडीएसएल नेट सुबिधा जडान भयो सबैले नेटको सुबिधा लिन सक्ने भए तर पनि त्यति सहज थिएन । किनकी विशेष निगरानीमा थियो । एडीएसएल सुबिधा । तर हाम्रा लागि त्यति असहज थिएन । किनकी समाचार र प्राबिधिकलाई नै नेटको आवश्यकता पथ्र्यो । सुरुमा जडान भएको सुबिधा निकै रफ्तारमा चल्ने खालको थियो । 
          राजेन्द्र प्रेमको सुगन्धमा थिए सायद त्यतिखेर । मनोज उस्तै पारामा । उदय पनि प्रेमरस मै थियो । मनु सामान्य अवस्थामा । युवा अवस्था मै हो प्रेमिका बनाउन मन लाग्ने । कुनै राम्रो मुखाकृति देखे लालायित हुने । सपनाको संसारमा घुम्न थाल्ने । यस्तै लक्षणहरु बढी हुन्छन त्यतिखेरको समयमा । जिवनले नयाँ साथी पाए हुन्थ्यो जस्तो लाग्ने समय भएको भएर होला हाजभोली राजेन्द्र फोनमा ब्यस्त हुन थालेका थिए । राति सुत्ने बेलामा एक दिन मोबाइल लिएर बाहिर निस्केको देख्दै थिए । मनोजलाई सोधें को हो ? कहाँकी ? यहि जिल्लाकै हो । मैले सोधें कतिमा पढ्छे ? खोई ११ मा होकि क्या हो । मनोजको यस्तै कुरा थियो त्यसपछि म केही बोलिन । फेसबुक खोलेर चलाउन थाले । 
                        एउटा परिवार बनेको थियो रेडियोका कर्मचारी हरुको । बिहान देखि साँझ सम्म काम गर्नेहरु प्राबिधिक संग जोडिएकै हुन्थे किनकी प्रबिधिक सबैलाई जोड्ने माध्यम हो । सरिता,पवित्रा,मन्जु,यादव, सन्तोष,अशोक, एफ एम आउने बित्तिकै प्राबिधिकलाई भेटेर मात्र आफ्ने काममा लाग्थे । एउटा अनौठो आत्मिएताले बाधेको थियो सबैलाई । तर थाहा थिएन यी सम्पूर्ण आत्मिएता एकदिन खण्डहर जस्तो बन्नेछ भन्ने । आज सम्पूर्ण प्राबिधिक संग लड्ने साथीहरु कता कता छन केही पत्तो छैन । तर राजेन्द्र र मनोज त्यही ठाउँमा त्यही कम्प्यूटर संग खेली रहेछन निरन्तर । समयले मान्छेलाई कसरी परिवर्तन गर्दछ भन्ने कुरा आज चरितार्थ भएको छ । मनोजले विहेवारी गरी  छोरी पाएका छन् । श्रीमती उतै अर्घाखाँचीमै छिन् । उदय पनि रेडियो छोडी नेटवर्किङको काम गछनर्् । एक छोरीको बाबु बनेका छन् । हिजो भेट भएको थियो सबै साथी मिलेर गौशाला खोलौं भन्दै थिए । मनु बिजनेस गर्दैछन् । राजेन्द्र विद्युत प्राबिधिक बनेका छन अरु काम सिक्न अब काठमान्डौ जादैछु भन्दै थिए । सबै यसै गरी लाखापाखा लागेका हुन् । कोही आफ्नै कारणले । कोही असन्तुष्टीले । कोही राम्रो अवसर पाएर । कोही अबसरकै खोजीमा आदि आदि कारण हुन छोड्ने । आधुनिक समय संगै आएको महंगीले गर्दा जिवन निर्वाह गर्न गाह्रो भएकोले मान्छे यथासम्भव आवश्यकता पूर्तिहुने ठाउँ खोजीरहेको हुन्छ । सायद यस्तै भएको हुनसक्छ सबैलाई ।
           रेडियोमा कार्यक्रम चलाउन थालेको एकवर्ष जति भाएको थियो । उज्यालो नाइन्टी नेटवर्कका मिलन लामा भन्ने प्राबिधिक तालिम दिन रेडियोमै आए । कार्यक्रम चलाउदै गरेकालाई सजिलो भो प्राबिधिक सिक्नका लागि । म पनि भाग लिन इच्छुक भएको मेनेजर सरलाई बताएँ । लालिम सुरुभो तालिममा सहभागी थियौं सरिता,राजमणि,सन्तोष, तथा बाहिरबाट आएका गरी १२ जना जति । मैले कम्प्यूटर सिक्दै गरेको हुनाले सिक्न सजिलै भएको थियो र अरुलाई पनि । किनकी सबैले सिकेको कुरा प्राक्टिकल गर्न अरुलाई भन्दा हामीहरुलाई सजिलो थियो । १० दिन प्रशिक्षण चल्यो मिलन लामा नेपालगंजको भेरी एफ एममा प्राबिधिक प्रमुख थिए । एज्यालोको पश्चिमाञ्चल प्राबिधिक शाखा हेर्थे । उनकी श्रीमती बिदेश थिइन सायद । साँझ पख कहिले फोनमा कहिले अनलाइन म्यासेन्जरमा कुरा गर्ने गर्थे । पातला पातला मिलन मिलनसार र मिजासिला स्वभावका थिए । १० दिन एउटै कोठामा बसेका थियौं विशेष उनीसंग सम्बन्ध राम्रो बनेको थियो मेरो । जानेबेलामा अरु अझै माथिल्लो स्तरको प्रशिक्षण आए हजुरलाई खबर गर्छु भनेका थिए । नेपालगंजका लागि बस चढाउन ४ नं बसपार्क सम्म म आफै गएको थिए । बसमा चढ्दै गर्दा भनेका थिए । राम्रो संग सिकेको कुरालाई प्रयोगमा ल्याउनु मैले सकेको सहयोग गर्छु । मैलै हुन्छ भन्दै गर्दा , बसले हरन बजायो म ओर्लें । उनी नेपालगंजका बसमा पश्चिम लागे । त्यसपछि उनी संग एक दुईपटक फोनमा कुरा भएको थियो । पछि फोन लाग्नै छोडेको थियो । तालिम सकिएको एक महिना जति भएको थियो । प्रशारण कक्षमा समय दिइरहेका मनुले काठमान्डौको राजधानी एफ एममा प्राबिधिकको काम पाए र उता लागे । दिउसोमा स्टूडियो हेर्ने प्राबिधिकको खाँचो भो रेडियोमा । उत्पादन कक्षमा रहेका उदयले दिउसो प्रशारण कक्ष सम्हान्न थाले । वर्षाकाल को समय थियो सबै खेत रोप्ने तरखरमा थिए । मोबाइल घरमै छाडेर रोपाईमा गएको थिए । साँझ आउँदा मेनेजर भेषराज पाण्डेको फोन आएको रहेछ । कल ब्याक गरें । हेल्लो सर नमस्ते ...... फोन गर्नु भएको रहेछ । मैले हुन्छ भने त्यसपछि फोन काटियो । अर्को दिन बिहान म रेडियोको मेनेजर कक्षमा गएँ मेनेजर सर अखबार पढ्दै हुनुहुन्थ्यो । सर नमस्ते...... नमस्ते नमस्ते पण्डित जी बस्नुस भन्दै कुर्ची देखाउनु भो र कुरा आफैबाट सुरु गर्नुभो  । मेरो साइडमा सन्तोष बसेको थियो केही दिन देखि उसले पनि बजार ब्यबस्थापकको जिम्मा पाएको थियो । सर भन्दै हुनुहुन्थ्यो हेर्नुस मनु काठमान्डौ काम पाएर उता लागे । उदयले आजभोली दिउसोमा लाइभ हेर्न थाले तपाइले प्राबिधिक सिक्नु भएको छ पनि अब हामी तपाईलाई उत्पादन कक्षका लागि प्राबिधिक बनाउने निर्णय गर्ने की भन्ने सोंचमा छौ । किनकी अरु बाहिरबाट ल्याउन भन्दा काम गर्दे गरेकोलाई अबसर दिउँ भन्ने हाम्रो बिचार । तपाई सहमत हुनुहुन्छ नी ? यस्तो कुरा सुन्ने बित्तिकै मेरो उत्साह बढेर घाँटी सम्म आइपुगेको थियो म खुसिले भित्रभित्र गदगद थिएँ कति खेर हुन्छ भनेछु थाहै भएन । ल अब भोलीबाटै काम सुरु गर्नुस ११ बजे आउने ५ बजे जाने । त्यस दिन देखि मलाई उत्पादन कक्षको जिम्मा दिईयो र म प्राबिधिक भएँ.................. । प्रचार,कार्यक्रम आदि रेकिर्ड सम्पादन र मिक्सिङ गर्ने काम मेरो जिम्मेवारीमा परेको थियो । म धेरै नै ब्यस्त हुन थालेको थिएँ । कामको चाप बढ्दै गएको थियो । कार्यक्रम , प्रचार , सूचना थपिदै गइरहेका थिए । रमाइलो मान्दै काम गरिरहेको थिएँ । धेरै दिन पछि एउटा खबर सुनेको थिए सत्य थियो थिएन यकिन छैन । हामीलाई प्राबिधिक सिकाउने मिलन लामाकी श्रीमति बिदेशमा मरिन रे यस्तै यस्तै । समाचार सुन्दा मिलन सरको याद आइरहेको थियो । यो खबर पछि म कामको शिलशीलामा भारतको लखनउ गएको बेला कोठामा बसेर फेसबुक चलाउँदै थिए त्यत्तिकैमा अर्को खबर आयो सयौंलाई  रेडियो प्राबिधिक बनाएका मिलन लामा रहेनन् । कसैले आफ्नो फेसबुक बालमा समबेदना दिदै समाचार शेयर गरेको थियो । समाचार खोलेर हेरें उनै मिलन लामा रेहछन । जसले मलाई रेडियो प्राबिधिकको शिक्षा दिएका थिए । जीवनको कालखण्डमा भेटिने अनेकौं गुरुहरुमा एक उनी पनि मेरा गुरु थिए । उनको नाममा भावनाको लहर एकपटक छाल बनेर कुद्यो आत्माको हृदयपटलमा ।

1 comments: