Sunday, January 8, 2017

सूतक—आशौच विचार

    सनातन वैदिक धर्म मान्नेहरुमा जन्म मृत्युको अशौच मान्ने प्रचलन छ । ती चलनहरुलाई समय परिस्थिति अनुसार परिवर्तन पनि गर्नु पर्ने हुन्छ , नत्र अस्विकार गर्न थाल्दछन् । यथार्थ ज्ञान नभएर कतिले मान्नै छोड्ने र कतिपयले अन्धविश्वासलाई समेत अंगाली रहने पनि हुन्छ । अतः सबैलाई सही जानकारी दिनु जरुरी छ । समय वित्दै जाँदा परिस्थितिहरु पनि बदलिन्छन् । बदलिदो परिस्थितिसंग चल्न जान्नु पर्दछ । तीन दिनमा सम्पन्न हुने विवाह एक डेढ घण्टामै पूरा गरिन्छ । यज्ञोपवित लगायतका तमाम संस्कारहरुलाई जनशुलभ र प्रभावशाली बनाईदिईयो । संस्कारहरुलाई तीर्थस्थलमा र यज्ञीय आन्दोलनमा सम्पन्न गराएर मूहूर्तवादका तमाम विसंगतिहरुबाट समाजलाई मुक्त गरियो । जन्म मरणको सूतक सम्बन्धमा पनि परिवर्तन आवश्यक छ र सबैले थाहा पाईराख्नु पर्दछ ।
आशौच के हो ?
कुनै घरमा कोही मर्यो वा बच्चा जन्मियो भने परिवारका सदस्यहरु अशुद्धिको स्थितिमा हुन्छन् । निर्धारित समयमा शुद्धि कर्म गरेर मात्रै शुद्ध हुन्छन् र धर्मकार्यहरुमा सहभागी हुन सक्छन् । सूतक किन आवश्यक छ त ? यस क्रममा दुई प्रश्न उठ्छन् । — (क.) जन्म— मरणमा त्यो कुल परिवारमा कुन कुन व्यक्तिहरुमा सूतक किन लाग्छ ?
(ख.) सूतक कति दिनसम्म चल्नु पर्दछ । अशौच किन लाग्छ ? यस सम्बन्धमा एक दमै कम विचारहरु पाईन्छन् । सहज विवेकको आधारमा यसका दुई स्वरुप बन्दछन् ।
    १. बाहिरी अशुद्धि — जन्म मरणको क्रममा स्वभाविक रुपले त्यस क्षेत्रको वातावरणमा फोहर फैलिन्छ , त्यसबाट स्थिति अशुद्ध हुन्छ धार्मिक कृत्य शुद्ध भएपछि मात्र गर्नु पर्दछ ।
    २. मानसिक विक्षोभ — जन्म मरणको क्रममा आफन्तहरुको मन सहज स्थितिमा हुदैन । तिनमा राग शोक भय आदिको प्रभाव रहिरहन्छ । यस्तो विक्षोभको अस्तव्यस्त मानसिकतामा धार्मिक प्रयोग सिद्ध हुँदैन । त्यसैले रोक्नु नै उचित हुन्छ ।
    हारीत स्मृतिको भनाई छ — कुलमा कसैको मृत्युले विक्षुब्ध दुःखि र निरास बनाउँछ । जन्म हुन्छ कुल बृद्धि हुन्छ भने सन्तुष्टि र सुखको अनुभुति हुन्छ । हारीतले आफन्तहरुको मानसिक स्थितिलाई महत्व दिएर मत व्यक्त गरेका हुन् । थियोसोफिकल सोसाईटिका केही विद्धानहरुको मत यस्तो पाईन्छ कि स्थूल शरीर त्यागेपछि पनि केहीदिन सम्म उसको प्राणशरीर रहिरहन्छ । त्यसले आफ्ना ईष्टमित्रहरुको वरपर मोहवस मडारीई रहन्छ । त्यसैले उसको मानसिकता र त्यहाँको सूक्ष्म वातावरण प्रभावित हुन्छ । यिनको भनाई अनुसार समझदार—सुध्रीएका व्यक्तिहरुको मोह हुदैन । त्यसैले तिनको प्राण शरीर छिट्टै गलेर जान्छ । मोहग्रस्त व्यक्तिहरुलाई दश दिन सम्मको समय लाग्छ । सम्भवतः त्यसैले होला शुद्धिको समान्य अवधि १० दिन राखिएको छ ।
सुतकको अवधि —
 यस सम्बन्धमा धेरै मत मतान्तरहरु पाईन्छन् । विवेक अनुसार परिस्थितीको विचार गरेर अवधि निश्चित गर्नु पर्दछ । यदि जन्म मरणको प्रसंग घरमा नभएर अस्पतालमा हो भने स्थूल अशुद्धिको प्रभाव घर र घरवालामा एकदमै कम पर्दछ । जुन प्रभाव एक दुई दिनमै मुक्त हुन पुग्छ । घरमा हो भने दुई तीन दिनको सरसफाई पछि शुद्ध हुन सक्छ । मानसिक सूचिता त व्यक्ति भेदले हुन्छ । त्यसैले यसको अवधि निश्चित गर्न कठिन छ । शास्त्रमै पनि दक्षस्मृति —५.२—३ ले आशौचको दश भेद बताएको छ । जस्तै ः— तात्कालिक (सून्यो स्नान गर्यो सकियो) एक दिन , तीन दिन , चार दिन , छ दिन ,दश दिन , बारह दिन , एक पक्ष ,एक मास एवं जीवनभर । याज्ञवल्क्य,परासर,वशिष्ठ,अंगिरा आदि ऋषिहरुका मत पनि फरक फरक छन् । अग्निहोत्री ब्राह्मण वेदमा अधिकार प्राप्त वेदको अध्ययन तथा तदनुसार जीवनयापनको क्रम चलाउनेले जन्म मरणको सूतकबाट एकै दिनमा मुक्त हुन सक्छ । तर आज त्यस्ता व्यक्ति पाउन कठिन भएकोले होला सामान्यतया १० दिनको गराईएको हुन सक्छ ।
सम्बन्ध र परिस्थितिको भेदले फरक हुने अवधि —
    आशौचको अवधिको बारेमा आपसी सम्बन्ध र परिस्थितीहरुका अनुसार पनि बहूत मतान्तर पाईन्छ । माता पितालाई सानो बच्चा मरेमा छोराको भए तीन दिन छोरीको भए एक दिन आशौच लाग्छ । दाँत उम्रेको छोरो तर चुडाकर्म नभएको भए सपिण्डीहरुलाई पनि एक दिन एक रात सूतक लाग्छ । छोरी भए सपिण्डीहरु नुहाएपछि शुद्ध हुन्छन् । चुडाकर्म भएको तर ब्रतवन्ध या विवाह नभएको भए सपिण्डीहरुलाई तीन दिन लाग्छ । उपनयन भए पछि भने सबै सपिण्डीहरुलाई दश दीन लाग्छ । विवाह भएकी छोरी बाबुको गाउँ भन्दा बाहिर अन्यत्र मरेमा बाबु आमालाई पक्षिणी –(दुई रातको बिचको एक दिन या दुई दिनको बिचको एक रात) ३६ घण्टा आशौच लाग्छ । विवाहित कन्याले आफ्ना माता पिताको अन्त्यकर्म गर्छे भने पनि त्यहि पक्षिणीकै आशौच हुन्छ । शास्त्रानुसार — छोरीले पनि अन्तिम संस्कार सम्पन्न गर्न सक्छे । तर आशौच पक्षिणी भन्दा बढी रहन्न । (गौतम र मनुका अनुसार ) विष्णु धर्मसूत्रको भनाई छ — कि विवाहित स्त्रिका लागि माता पिताको आशौच लाग्दैन । विवाह नहुँदै पिताकै घरमा हुँदा भए लाग्छ ।
    मामा मर्दा भान्जा भान्जीलाई पक्षिणीको आशौच लाग्छ । यदि मामा भान्जा कै घरमा मर्छ भने तीन दिन लाग्छ यदि मामा ब्रतवन्ध नभएको हो या अन्यत्र मर्छ भने एकदिन मात्र लाग्छ । छोरीकी छोरी मर्दा आशौच लाग्दैन । ज्वाँईको घरमा सासु या ससुरा मरेमा ज्वाँईलाई तीन दिन र अन्यत्र मरेमा एक पक्षिणीको आशौच लाग्छ । ज्वाँईको मृत्युमा सासु ससुरालाई एक दिन या केवल स्नानले शुद्ध हुन्छ । यदि ज्वाँई ससुरालमा मरेमा सासु ससुरालाई तीन दिन आशौच लाग्छ । सालो मर्दा ब्रर्तबन्ध भएको भए एक दिन लाग्छ । ब्रतबन्ध नभएको या अन्य गाउँमा मरेको हो भने सुनेपछि स्नान मात्र गरे पुग्छ । फुपुहरु र सानीमा ठुलिआमाहरुको एक पक्षिणी आशौच लाग्छ । तर आफ्नो घरमा आएर मरेमा तीन दिन लाग्छ । शिष्यले गुरुको तीन दिन गुरुआमा र गुरुभाईको एक दिन आशौच वार्नुु पर्ने निश्चित गरिएको छ । सहपाठीको पनि एक दिन आशौच लाग्छ । गाउँमा कसैको पनि मृत्यु भएमा शव गाउँ बाहिर नजाँदा सम्म सारा गाउँ आशौच मै हुन्छ । त्यतिन्जेल वेदाध्ययन रोकिन्छ यदि त्यस गाउँमा चारसय भन्दा बढी ब्राह्मणहरु बस्छन् भने त्यो नियम लागु हुँदैन । र बजारमा पनि यो छुट छ । यसबाट यहि स्पष्ट हुन्छ की सानो गाउँमा शोकको वातावरण पुरै गाउँभरी छाउँछ । तर ठूलो गाउँ र बजारमा अथवा धेरै संख्यामा ब्राह्मणहरु भएको ठाउँमा त्यो स्थिति हुँदैन । त्यसैले त्यहाँ त्यो नियममा छुट पाईन्छ ।
विषेश प्रसंगहरुमा —
 विष्णुपुराण ३.१३.७ यस्तो व्यवस्था छ कि शिशुको मृत्युमा या देशान्तरमा कसैको मृत्युमा या पण्डित या यति (सन्यासी) को मृत्यु मा या जल अग्नि या फाँसीमा झुण्ड्यायर र आत्मघातको मृत्युमा सद्य आशौच ( स्नान द्धारा शुद्धि) हुन्छ । गौतम स्मृति (१४ —४२) तथा वामनपुराण (१४—९९) मा पनि यहि मत व्यक्त गरिएको छ । याज्ञवल्क्य स्मृति अनुसार यज्ञका लागि वरण गरिएको पुरोहितहरुलाई मधुपर्क दिईसकिएको छ भने जनन या मरणको स्थितिमा सद्यः आशौच गर्नु पर्दछ । यहि कुरा ती व्यक्तिहरुका लागि पनि हो जो सोमयाग जस्ता वैदिक यज्ञहरुका लागि दिक्षित भैसकेका छन् । जो कुनै दान गृहभण्डारमा भोजन दान गर्दै रहन्छन् । जसले चान्द्रायण जस्ता व्रत या स्नातक धर्ममा लागिरहेका छन् जो ब्रह्मचारी आश्रमको कर्तब्यहरुमा संलग्न छन् । जो प्रतिदिन गाई सुन आदिको दानमा लागिरहन्छन् — दानको समय — जो ब्रह्मज्ञानी (सन्यासी) छन् दिने समय — विवाह,वैदिक यज्ञहरुमा या जो अहिले भर्खरै युद्ध भूमिमा जाँदैछन् , आक्रमणको कारणले, आन्दोलन , दुर्भिक्ष या दुर्घटनामा मर्नेहरुको लागि पनि सद्यः आशौच ( स्नान द्धारा शुद्धि)  हुन्छ ।
    गौतमस्मृति ( १४।४३ — ४४ ) को भनाई छ की राजा एवं ब्राह्मणहरुको लागि पनि तिनको कर्तव्यमा बाधा नपार्नका लागि सद्यः आशौच हुन्छ । तिनीहरुलाई त्यो पूर्वजन्मको सद्गुणहरुले प्राप्त हुन्छ । त्यसैले तिनलाई यो व्यवस्था बनाईएको हो । गोभिल स्मृति — ( ३। ६४—६५ ) अनुसार सूतकमा  ब्रह्मचारीले आफ्ना विशिष्ट कर्म वेदाध्ययन एवं ब्रत छोड्नै पर्दैन । दिक्षित भएपछि यजमानले यज्ञ छोड्न पर्दैन । प्रयाश्चित्त गर्नेले कृच्छ (कष्ट) आदि त्याग्नु हुँदैन यस्ता व्यक्तिलाई बाबु आमा मर्दा पनि अशुद्धिको प्राप्ती हुदैन ।
    कूर्मपुराण ( उत्तरार्ध पृ.२३ । ६१ ) को भनाई छ कि नैतिक नैष्ठिक ब्रह्मचारी जो जीवन भर वेदाध्ययन गरिरहन्छन् । गृहस्थाश्रममा प्रवेश गर्दैनन् एवं यति (सन्यासी) को लागि मृत्युमा आशौच लाग्दैन । मिताक्षरा (याज्ञवल्क्य स्मृति ३—२८) को भनाई छ ब्रह्मचर्य,वानप्रस्थ,एवं सन्यास आश्रमहरुको विषयमा कुनैपनि समयमा कसैको पनि विषयमा आशौच लाग्दैन । सन्यासी एवं ब्रह्मचारी हरुलाई माता पिताको मृत्युमा बस्त्र सहित स्नान मात्र गरे पुग्छ । — (धर्मसिन्धु पृ. ४४२) । जुन व्यक्तिहरु लगातार दान कर्ममा लागि रहन्छन् । ब्रतादि गर्दै रहन्छन् । तीनलाई विशिष्ट कर्ममा लागिरहँदा सम्म आशौच लाग्दैन तर अन्य कर्महरुमा व्यस्तहुन थाले या अरुसंग रहेर दैनिक कर्ममा संयुक्त रहन्छन् तव आशौचबाट मुक्त हुन पाउँदैनन् । उदाहरणार्थ — (पराशर स्मृति ३ । २०—२१ र गौतम स्मृति १४ । ११ ) पनि हेर्न सकिन्छ ।
समिक्षात्मक चिन्तन —
 उक्त सबै प्रकरणहरुको विवेक पूर्वक विवेचन गर्दा निम्नानुसार निष्कर्ष निकाल्न सकिन्छ । आशौचको सम्बन्ध क्षेत्र तथा वातावरणलाई स्वच्छता बनाउने तथा विक्षुब्ध मानसिकतालाई सन्तुलनमा ल्याउने प्रयास हो । परिवार र समाजको व्यवस्थालाई ध्यानमा राख्दै शुद्धिका लागि समय र कर्मकाण्डको निर्धारण गर्दै गईएको छ । ( मदन पारीजात पृ । ३९२ ) अनुसार लोकाचार र देशाचारलाई पनि महत्व दिनै पर्दछ । प्रभावित व्यक्तिहरुको गुण,अवगुण माथि विचार गरेर सूझ बुझका साथ यसलाई कम बेसी गर्नु पर्दछ । युगऋषिको मार्ग दर्शन अनुसार युगतीर्थ शान्तिकुञ्ज हरिद्धारमा विवेकपूर्वक सूतक शुद्धिको क्रम औसतन तीन दिनमा सम्पन्न गाराई दिईन्छ ।
आजको व्यस्त जीवनमा श्राद्ध शुद्धि अवधि लामो अधिकांसलाई राम्रो लाग्दैन । श्राद्ध कर्म श्रद्धामा आधारित हुन्छ । धेरै दिन लम्ब्याउँदा मजबुरी लाचारी परेसानीको भाव बन्दछ र श्रद्धाभाव खस्किन्छ र कर्मकाण्डको पनि त्यति राम्रो प्रभाव पर्दैन । त्यसैले जन्म र मरणको सूतकको क्रममा स्थान र वातावरणको प्रयास विवेकपूर्वक छिटो भन्दा छिटो पुरा गर्दिनु पर्दछ । स्थान र वस्त्रहरुको सफाई राम्ररी नीमको पात उमालेर , रातो औषधी, फीनाईल जस्ता सुलभ औषधीहरु र यज्ञोपचारको उपयोग गरेर गर्न सकिन्छ ।
गरुणपुराणको सट्टामा युगऋषिद्धारा लिखित मरिसके पछि हामी के हुन्छौं ? । एक डेढ घण्टामा पढेर सुनाई दिन सकिन्छ । यदि कुनै अध्ययनशील विचारशील व्यक्तिले मर्नेका आफन्तहरुलाई सुनाई दिने बुझाई दिने हो भने त्यसबाट राम्ररी उद्देश्य पुरा हुन सक्दछ । अन्त्येष्टि पछि तीन दिनमा श्राद्ध सहित शुद्धिको क्रम पुरा गरिदिने त्यसपछि व्यवस्था हुन सक्छ भने दश या तेह्र दिन सम्म मृतकको फोटो राखेर अखण्ड दीपक प्रज्वलन गर्ने , सामुहिक जपहरु चलाएर मृतात्माको शान्ति र सद्गतिका लागि प्रार्थना गरिदिने । श्राद्धकर्म शास्त्र सम्मत तथा विज्ञान सम्मत श्रद्धापूर्वक प्रभावशाली पद्धति अनुसार पूर्ण गरिदिने । जस्तै —
ड्ड    आफ्ना पितृहरुको सन्तुष्टि र सद्गतिका लागि आफ्नो सामथ्र्य अनुसार श्रद्धा पूर्वक प्रयास गर्नु प्रत्येक व्यक्तिको धर्म कर्तब्य हुन्छ । त्यसलाई पूरा गर्नेको श्रद्धा विकसित हुन्छ । कर्तब्य पूर्तिको सन्तोष मिल्छ र पितृदोष जस्ता विसंगतिहरुबाट बचिन्छ ।
ड्ड    श्राद्धकर्म गर्नेलाई संतुष्ट पितृहरुको स्नेह,अनुदान सहजै प्राप्त भइरहन्छ ।
ड्ड    श्रद्धाले कृतज्ञताको भावहरुको विस्तार हुन्छ । त्यसले सूक्ष्म वातावरण अनुकुल बन्दछ । तथा नयाँ पीढीमा सहजै भाव जाग्दछ श्राद्धसंग जोडिएका मन गढन्ते , खर्चिला र अन्ध परम्पराहरुलाई महत्व नदिएर तिनको निर्वाह विवेक पूर्वक गर्दै जानु पर्दछ ।
ड्ड    प्रत्येक समाज एवं प्रत्येक वर्गका प्रगतिशील , भावनाशील , समझदार व्यक्ति यस दिशामा जनजागरण ल्याउन तथा परिपाटीहरुलाई विवेक र विज्ञान सम्मत बनाउनका लागि विषेश प्रयास गरौं ।
निष्कर्ष ः—
    माथि भनिएका सबै पुराण ,स्मृति, ऋषिहरुका कथनबाट सूतकको अवधि विवेकमा भर पर्ने देखिन्छ । जसले शरीर र आत्मा अलग चीज हो ,शरीर नाशवान हो ,आत्मा अमर तत्व हो । शरीर छोडिन्छ । आत्मा पुरानो शरीर छोडेर नयाँ शरीरमा प्रवेश गर्छ भन्ने बुझ्दैनन , मान्दैनन् , स्वीकार्दैनन् , शरीर छोड्ने कुरालाई एकदम दुखद घटना मानेर दःुखी हुन्छन् विक्षुब्ध मानसिकतामा पुग्दछन् , तीनलाई सूतक धेरैदिन लाग्ने , जो ज्ञानी छन् मृत्युलाई समान्य मान्छन् , कम दुःखी हुन्छन् या सांसारिक मोह देखि मुक्त छन् , तीनलाई आशौच कम लाग्ने अर्थात् जसको मृत्युमा जसलाई जत्ति बढी दुःख लाग्छ आफ्नो मनलाई समान्य अवस्थामा ल्याउन जति धेरै दिन लाग्छ त्यसैको आधारमा आशौचको अवधि पनि बढी लाग्ने देखिन्छ । परम्परालाई भन्दा विवेकलाई महत्व दिएर कर्मादि गर्दा अति उत्तम हुने मानिन्छ ।
   

संकलक एवं अनुवादक
डा. विष्णु अर्याल विशालान्द

0 comments:

Post a Comment